खानेपानी संस्थानमा २५ कराेड रुपैयाँ घाेटाला



काठमाडाैं : डीआई (डक्टाइन आइरन) पाइप तथा फिटिङका सामान खरिदमा नेपाल खानेपानी संस्थानले २५ करोड रूपैयाँ घोटाला गरेको पाइएकाे छ। संस्थानको बुटवल र नेपालगञ्ज शाखाले सार्वजनिक खरिद ऐनविपरीत अनियमितता गरेको तथ्य भेटिएको हो।

 

एउटै प्रकृतिको कामलाई टुक्रा गरेर ठेक्का दिई उक्त रकम घोटाला गरिएको खानेपानी मन्त्रालयको छानबिन प्रतिवेदनले औंल्याएको छ। ठेक्का दिने प्रक्रियादेखि ठेक्का लिएर काम गर्दासम्म स्वार्थ राखेर बद्नियतपूर्ण काम भएको निष्कर्ष प्रतिवेदनले निकालेको छ।

 

खानेपानी मन्त्रालयका कानुन उपसचिव गुणराज श्रेष्ठको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले आर्थिक चलखेलका लागि सार्वजनिक खरिद ऐनविपरीत काम गरेको ठहर गरेको छ। गत असार ३ गतेको मन्त्रीस्तरीय निर्णयबाट गठन भएको समितिमा डिभिजनल इन्जिनियर दिनेश अधिकारी, इन्जिनियर शेखर खनाल, लेखा अधिकृत राजेशप्रसाद घिमिरे र सदस्य विष्णु सुब्बा थिए।

 

प्रतिवेदनका अनुसार ठेक्का लिने कम्पनीसँग पहिल्यै मिलेमतो गरी किरण वैद्यको एक्जिम नेपाल र भाइराजा नकर्मीको फर्मसँग मिल्ने गरी शर्त बनाइएको छ। मिलोमतोमा उसैलाई ठेक्का दिएर अनियमितता गरेको उल्लेख छ। प्रतिवेदनमा दुवै कम्पनीलाई २५÷२५ करोड रूपैयाँको पाइप तथा फिटिङको सामान खरिदको टेन्डर दिएको उल्लेख छ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएकाे हाे । 

प्रतिक्रिया दिनुहोस्