सिंजा क्षेत्रमा टेलिफोन नहुँदा सास्ती



जुम्ला ः नेपाली भाषाकाे उत्पत्ति स्थल भनेर परिचित सिंजा क्षेत्रमा दुई स्थानीय तहमा टेलिफाेन सेवा नपुग्दा स्थानीय बासिन्दा सामान्य सञ्चार सुविधाबाट समेत वञ्चित भएका छन् । टेलिफोन सेवा उपलब्ध नहुँदा सिंजावासीलाई सास्ती भएको छ । सिंजा क्षेत्रमा तीन गाउँपालिका छन् ।

सिंजा गाउँपालिकामा नेपाल टेलिकमको साझेदारीमा टेलिफोन विस्तार भएको भए पनि अन्य दुई गाउँपालिकामा भने डाँडापाखा धाउनुपर्ने बाध्यता रहेको छ । गाउँपालिकाको पहल तथा समन्वयमा नेपाल टेलिकमले ‘टु जी’ सेवा विस्तार गरेको हो । तर हिमा र कनकासुन्दरी गाउँपालिकाका बासिन्दा भने टेलिफोन सेवाबाट वञ्चित छन् । 

गत वर्षको स्थानीय तहको चुनावमा आफूले जनतामा गरेको बाचाअनुसार नै टेलिफोन सेवा विस्तार गरेको गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताए । निर्वाचनमा मत परिणामसमेत प्रहरीको सेटमार्फत सूचना लिनुपर्ने बाध्यता अब सिंजा गाउँपालिकाका लागि हटेको छ । 

सिंजाको नराकोटमा राखिएको टेलिफोन टावर हवाई कम्पनीले निर्माण सम्पन्न भइसकेको छ । यो समय सिंजाली पुरुष धन कमाउन भारततिर गएपछि आफन्तसँग नियमित सम्पर्कसमेत हुन सकेको छैन । अहिले त्यहाँका महिला, पुरुषसँग कुराकानी गर्न नपाएको कनका सुन्दरी गाउँपालिका–५ का लालकली बूढाले बताए । 

'श्रीमान् भारत गएको महिना पुग्न लाग्यो, टेलिफोन नहुँदा सास्ती भएको छ', उनले भने । यहाँका हरेक बस्तीका पुरुष व्यापार व्यवसायको लागि भारततिर गएका छन् । 

हिमा र कनकासुन्दरी गाउँपालिकाले पनि सञ्चारको लागि करोडौँ रकम छुट्याएको भएपनि अहिलेसम्म टेलिफोन विस्तारमा कुनै काम भएको छैन ।

प्रतिक्रिया दिनुहोस्