महराको सांसद पद यथावत्, प्रहरी हिरासतमा पनि ‘माननीय’ हैसियतमै



काठमाडौँ : आफैंले राजीनामा नदिएको र पार्टीले पनि निष्कासन नगरेकाले बलात्कार प्रयास आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद यथावत् छ ।

प्रतिनिधिसभा नियमावलीअनुसार उनी निलम्बित नभइसकेकाले प्रहरी हिरासतमा पनि ‘माननीय’ हैसियतमै छन् । मुद्दा अनुसन्धानका क्रममा पक्राउ परेकै कारण मात्र सांसद पद निलम्बित हुँदैन ।

संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोप लागेपछि उनीसम्बद्ध पार्टी नेकपाले महरालाई सभामुख र सांसद पदबाट राजीनामा दिन भनेको थियो । पार्टी सचिवालय बैठकले सोहीअनुसारको निर्णय गरेको कुरा बाहिर आएको थियो । बैठकपछि पार्टी नेताहरूले ‘महरा अब सांसद नरहेको’ प्रतिक्रिया पनि दिएका थिए ।

तर, सभामुखबाट राजीनामा दिएका महराले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएनन् । पार्टी निर्णयको अवज्ञा तथा अनैतिक आचरणको अभियोग लागे पनि उनलाई पार्टीले कुनै कारबाही गरेको सार्वजनिक भएको छैन ।

नेकपाको विधानमा पार्टीका पदाधकारी वा सदस्यहरूमाथि विभिन्न कसुरहरूमा अनुसन्धनात्मक कारबाहीको व्यवस्था छ । पार्टीको प्रतिष्ठा र मर्यादामा आँच पुर्‍याउने काम गरेको, नैतिक पतन देखिने फौजदारी कसुर गरेको, भ्रष्ट तथा अनैतिक आचारण गरेको कसुरमा पार्टी सदस्यता वा संगठित सदस्यताबाट निष्कासन गर्नेसम्मको कारबाही गर्न सकिने विधानमा उल्लेख छ ।

संसद् सचिवालयका पूर्वसचिव सोमबहादुर थापा पार्टीले आवश्यक प्रक्रिया पूरा गरेर उनलाई कारबाही गरेको सूचना संसद सचिवालयलाई पठाए महराको सांसद पद गुम्ने बताउँछन् । ‘तर, पार्टी त्यता मुभ गरेको देखिएन, सचिवालय बैठकपछि पार्टीले थप केही बोलेको पनि सुनिएन,’ उनले भने, ‘पार्टीको उक्त निर्णय औपचारिक थियो कि अनौपचारिक मात्रै रु प्रश्न उब्जिएको छ ।’ बाहिर ल्याएअनुसार निर्णय कार्यान्वयनका लागि पार्टीले कुनै कदम नचाल्दा पार्टी सचिवालय बैठकको निर्णय प्रचारबाजीमा मात्रै सीमित हुन पुगेको छ । कानुनी व्यवस्थाअनुसार महराले राजीनामा दिएको भए वा दल त्याग गरेको भए वा उनलाई पार्टीले कारबाही गरेर दलबाट निष्कासन गरेको भए उनको सांसद पद जान्थ्यो ।

राष्ट्रिय सभाका सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी पूर्वसभामुख आफैंले राजीनामा नदिएको, दल त्याग नगरेको वा उनलाई पार्टीले कारबाही गरेर निष्कासन गरिसकेको अवस्था नरहेकाले उनको सांसद पद यथावत् रहेको बताउँछन् । यो खबर आजको कान्तिपुर दैनिकले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्