सभामुख बनाउन नेकपाले थाल्यो गृहकार्य, उपसभामुखलाई राजीनामा गराउने तयारी



काठमाडौं : सत्तारुढ दल नेकपाले रिक्त रहेको सभामुख पदमा कसलाई अघि सार्ने भनेर आन्तरिक गृहकार्य थालेको छ । तत्कालिन सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका थिए । महराको राजीनामासँगै सभामुख पद रिक्त भएपछि नेकपाभित्र सभामुख बन्नका लागि दौडधुप सुरु भएको हो । संवैधानिक दृष्टिले सभामुख र उपसभामुख पद एउटै पार्टीका सांसद हुन नहुने व्यवस्था छ । यसकारण सभामुख पद लिने हो भने नेकपाले उपसभामुख पद अरु पार्टीलाई दिनुपर्ने हुन्छ । यस्तो परिस्थितिमा उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा लिन लगाउने तयारी पनि नेकपाले गरेको बताइएको छ । तर संवैधानिक हिसाबले उपसभामुखले राजिनामा दिने ठाउँ पनि छैन ।

अहिले सभामुख पद रिक्त भएसँगै पार्टीका नेताहरु सुवासचन्द्र नेम्वाङ, अग्नि सापकोटा, देव गुरुङ, ओनसरी घर्ती सभामुखको दाबेदारका रुपमा देखापरेका छन् । यीमध्ये नेम्वाङ र घर्ती सभामख भईसकेका व्यक्ति हुन भने गुरुङ नेकपा संसदीय दलका प्रमुख सचेतक हुन । त्यस्तै सापकोटा नेकपा नेता तथा मन्त्री भईसकेका व्यक्ति हुन ।

श्रोतका अनुसार प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली सुभाषचन्द्र नेम्वाङका पक्षमा रहेको बताईन्छ भने नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल अग्नि सापकोटालाई बनाउने चाहना राख्दछन् । नेकपाभित्र अलग्गै समूहको नेतृत्व गर्दै बलियो बन्दै गरेका गृहमन्त्री रामबहादुर थापा बादलहरुको समूहले देव गुरुङको पक्षमा लबिङ गरिरहेका छन् ।

यसका अतिरिक्त उर्जामन्त्री वर्षमान पुन निकट नेताहरुले ओनसरी घर्तींको पक्षमा लबिङ पनि थालेका छन् । त्यसो त नेकपाभित्र कार्यवाहक सभामुखको रुपमा रहेकी उपसभामुख शिवमाया तुम्वाहाम्फेलाई सभामुख बनाउने लविङपनि शुरु भएको छ ।

कतिपय कानुनवीदहरु प्रतिनिधिसभा नियमावली संसोधन गरेर उपसभामुखले राजिनामा दिने बाटो खोल्न सकिने बताएका छन् । तर त्यसका लागि उपसभामुख तुम्वाहाम्फेलाई सभामुख वा मन्त्री पद नदिई अघि बढ्न सक्ने अवस्था पनि देखिदैन । सभामुख पद नेकपाले राख्ने अवस्थामा संवैधानिक हिसाबले उपसभामुख प्रतिपक्षी दल नेपाली कांग्रेस वा अन्य दललाई दिनुपर्ने बाध्यता नेकपासामु छ ।

प्रधानमन्त्री केपी ओलीले सभामुख आफू निकटको हुनुपर्ने एउटै तर्कको आधारमा मात्र यो पद साबिक नेकपा एमालेको पक्षमा जाने स्थिति रहेको देखिन्छ । यदि साबिक एमालेको पक्षमा यो पद गएमा नेम्वाङ सभामुख हुने सम्भावना प्रवल छ । तर, नेकपाभित्र शक्ति सन्तुलनका हिसाबले यो पद साबिक माओवादी केन्द्रको भागमा परेको हुनाले सभामुख साबिक माओवादी केन्द्रभित्रबाटै हुनसक्ने पनि देखिन्छ । यो स्थितिमा प्रचण्डनिकट अग्नि सापकोटा सबैभन्दा बलियो दाबेदार देखिन्छन् । तथापि, गृहमन्त्री रामबहादुर थापा पक्षधर देव गुरुङ पनि चर्चामा अगाडि नै छन् । नेकपाभित्र आन्तरिक शक्तिसन्तुलन मिलाउन समस्या देखिन्छ ।

रिक्त सभामुख पद नेकपाले नछोड्ने तयारीका साथ सभामुख पदमा कसलाई अघि सार्ने भन्ने विषयमा पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो सोेमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको छ । पार्टीको अब बस्ने सचिवालय बैठकमा यो एजेन्डालाई प्रवेश गराएर यो विषयलाई टुंगोमा पु-याउने दुई अध्यक्षबीच सहमती भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्