मुस्कानमाथि एसिड आक्रमण गर्ने दोषीलाई जोगाउन चलखेल !



काठमाडौं : विद्यालय जाने क्रममा मुस्कान खातुनमाथि एसिड आक्रमणमा गर्ने दोषीहरुलाई जोगाउन चलखेल भइरहेको छ । दोषीहरु नाबालक भन्दै परिवारजनले केही स्थानीय राजनीतिक नेताहरुको संरक्षणमा कानुनी रुपमा सहुलियत दाबी गर्दै मुद्दा अगाडी नबढाउन चलखेल भइरहेको बताइएको छ ।

परिवारजनहरुले आरोपी दुबैको उमेर १४ र १५ वर्ष रहेको दाबी गर्दै सोहि अनुसारको मुद्दा चलाउन दबाब दिइरहेका छन् । तर प्रहरीले उमेर जाँच गराउँदा उनीहरुको उमेर १९ र १७ वर्ष भएको मेडिकल रिर्पोट नारायणी उपक्षेत्रीय अस्पतालले दिएको छ । यसलाई आधार बनाएर प्रहरीले एसिड आक्रमण घटनामा ज्यान मार्ने उद्योग अन्र्तगत दोषीमाथि १० वर्ष कैद र अर्को एसिड तथा रसायनिक पदार्थ आक्रमण गरेको मुद्दामा थप अर्को १० वर्ष कैद माग गर्दै अदालतमा बुझाउने तयारी गरिरहेको छ ।

चौतर्फी चासो र चर्चित रहेको यो एसिड आक्रमण घटनामा मुस्कानमाथि एसिड आक्रमण गर्ने दोषीलाई बचाउन चलखेल सुरु भएपछि केही स्थानीय नेता र नागरिक समाजका अगुवाले चासो लिएका छन् । उनीहरुले एसिड आक्रमण घटनाका दोषी जोगाउन चलखेल नहोस् भनी प्रहरी प्रशासनको ध्यानाकर्षण गराएको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले बताए ।

Image result for muskan khatun acid

यसैबीच दोषीहरुलाई जोगाउन चलखेल भएको सुचना पाएपछि पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव नेतृत्वको एउटा टोली हिजो सोमबार जिल्ला प्रहरी कार्यालय पर्सा पुगेर प्रहरी प्रशासनकाे ध्यानाकर्षण गराएका छन् । सांसद यादवले मुस्कान उपर एसिड आक्रमण गर्ने दोषीमाथि कानुन बमोजिम कारबाही गर्न र कसैको दबाबमा नपर्न प्रहरीलाई आग्रह गरेको पत्रकार महासंघ पर्साका अध्यक्ष बन्जाराले बताए । पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठोरले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको बताउँदै आफूहरुले सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गराउने अन्तिम तयारी गरिरहेको जानकारी दिए ।

प्रदेश २ सरकारले बेटी पढाऊ बेटी बचाउ अभियान चलाइरहँदा वीरगन्ज महानगरपालिका छपकैया २ की १५ वर्षीया मुस्कानमाथि गत भदौ २० गते हनुमान माध्यमिक विद्यालयमा अध्ययन गर्न जाने क्रममा दुई जना युवाले बाटो छेकेर एसिड प्रहार गरेका थिए । घटनामा आरोपित दोषी एसिड प्रहार गर्ने मुख्य अभियुक्त वीरगन्ज २ छपकैयाका सम्साद मियाँ र माजिद आलमलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । हाल मुस्कानको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

Image may contain: 2 people, people smiling, closeup

सांसद जुली कुमारी महतोले यसअघि संसद बैठक चलिरहँदा विशेष समयमा बोल्दै एसिड आक्रमण जस्ता जघन्य अपराध गर्नेलाई कडा कारबाहीको माग गरेकी छन् ।

Related image

किर्तिपुर अस्पतालमा उपचारारत मुस्कानलाई नेपालका विभिन्न नेता तथा कलाकारहरुले भेटेर सहानुभुति दिएका छन् । यस्तै बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनलगायत अन्य अभिनेता तथा अभिनेत्रीहरुले पनि यस विषयमा चासो देखाउँदै मुस्कानलाई शीघ्र स्वास्थय लाभको कामना गरेका छन् ।

Related image
प्रतिक्रिया दिनुहोस्