मिनी चिडियाघरमै वन्यजन्तु असुरक्षित



झापा : पर्यटक आकर्षणका लागि झापाका थुप्रै सामुदायिक वनले मिनी चिडियाघरका नाममा पालेका वन्यजन्तु असुरक्षित भएका छन् । मेचीनगर–११ मा रहेको बाँसबारी सामुदायिक वनमा तारजालीको कडा घेराभित्र पालिएका चार वयस्क हरिणलाई एक महीनाअघि कुकुरले चिथोरेर मारेपछि चिडियाघरका वन्यजन्तुको सुरक्षामा प्रश्न उठन थालेको छ ।

एकैखेपमा यति धेरै दुर्लभ वन्यजन्तु मारिएपछि सर्वसाधारण, वन्यजन्तु संरक्षणमा लागेका संस्था, सञ्चार माध्यम र सरकार सबैको ध्यान यसतर्फ तानिएको छ । जिल्ला वन कार्यालयबाट दुई वर्षअघि मात्र पर्यापर्यटनका लागि वन्यजन्तु पाल्ने इजाजत लिएको बाँसबारी सामुदायिक वनका अध्यक्ष शम्भु राजवंशीले जनावरको लालनपालन, उपचार र रुचिकर आहारका बारेमा उचित जानकारी नभएका कारण पालिएका वन्यजन्तु मर्ने गरेको जानकारी दिए।

उनले आफ्नो सामुदायिक वनले सञ्चालन गरेको चिडियाघरमा पालिएका अजिङ्गर र निगाले बाघको बच्चासमेत मरेको बताए। गाउँलेले भेट्टाएका वन्यजन्तु वन कार्यालयलाई बुझाउने र वन कार्यालयले संरक्षणका लागि सामुदायिक वनहरुलाई जिम्मा लगाउने गर्दै आएका छन् ।

घाइते अवस्थामा उद्धार गरिएका वन्यजन्तुसमेत सामुदायिक वनमै राख्ने गरिएको छ । झापा डिभिजन वन कार्यालयका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले बाँसबारी, थोप्लेविरान, आदर्श र जुकेखाडी सामुदायिक वनले पर्यापर्यटनका नाममा वन्यजन्तु पाल्दै आएका छन् भने।

त्यहाँका वनमा हरिण, हाडखोर, गिद्ध, बँदेल, खरायो, लाटकोसेरा, ढेडु बाँदर, बँदेल, भालु, अजिङ्गर, मृग, मलसाप्रो, खरायो, बेलायती मुसा र हुचिल, वनढाडेलगायत दुई दर्जन वन्यजन्तु र पक्षी पालिएका छन् ।उनका अनुसार उद्धार गरिएका र घाइते अवस्थामा फेला पारिएका वन्यजन्तुलाई कार्यालयमा संरक्षण गरेर राख्ने ठाउँ नभएका कारण सामुदायिक वनलाई नै बुझाउनुपर्ने बाध्यता रहेको छ ।

सामुदायिक वनहरुले पालेका वन्यजन्तु उचित संरक्षणको अभावमा मरेका घटना गुपचुप हुने गरेका छन् । झापामा विगत पाँच वर्षमा १५ भन्दा बढी अजिङ्गर नै सामुदायिक वनको मिनी चिडियाखानामा मरिसकेको अनुमान छ तर यसको आधिकारिक तथ्याङ्क कुनै निकायले राखेको पाइँदैन ।कालिका सामुदायिक वनले डेढ वर्षअघिदेखि वन्यजन्तु पाल्न शुरु गरेको हो ।

चारआली पशु सेवा केन्द्रबाट प्राविधिक बोलाएर कर्मचारीलाई वन्यजन्तु स्याहारसम्बन्धी तालीम दिन थालिएको उक्त सामुदायिक वनका अध्यक्ष योगेश भट्टराईले बताए। महीनामा रु २३ हजार वन्यजन्तुको आहारमा खर्च हुँदै आएको र वनमा पालिएकामध्ये एउटा हरिण, दुई अजिङ्गर र केही बँदेल मरिसकेका उनको भनाइ थियो ।

जिल्लामा सबैभन्दा बढी वन्यजन्तु पाल्ने सामुदायिक वन कनकाइको जामुनखाडी हो । उक्त वनका अध्यक्ष ख्याम सिटौलाका अनुसार भालु, अजिङ्गर, मृग, मलसाप्रो, खरायो, बेलायती मुसा र हुचिल, वनढाडेलगायत दुई दर्जन प्रजातिका जीवजन्तु र चरा त्यहाँ पालिएका छन् ।

प्रदेश नं १ को नमूना चिडियाघरको रुपमा इजाजत पाएको यस सामुदायिक वनमा समेत कुन बेला कति जनावर मरे भन्ने लेखाजोखा छैन । यहाँ हरिणको बथान नै पालिएको छ । डिभिजन वन कार्यालय झापासँग विसं २०६५ यता चितुवा, अजिङ्गर, चित्तल, डल्फिन, हाडखोरलगायत १० र जङ्गली हात्ती १० गरी २० वन्यजन्तु मरेको तथ्याङ्क छ । सामुदायिक वनको चिडियाघरमा कति वन्यजन्तु मरिसके भन्ने तथ्याङ्क राख्ने गरेको पाइएन ।

सामुदायिक वनहरुले सञ्चालन गर्दै आएको मिनी चिडियाघरले आन्तरिक पर्यटन र वन्यजन्तुको संरक्षणमा योगदान पु¥याएको यथार्थलाई नकार्न नसकिए पनि आम्दानी दिने चिडियाघरमा पालिएका निरीह वन्यजन्तुको सुरक्षा, स्याहार र उपचारमा पर्याप्त ध्यान पुग्न नसकेको सरोकारवालाहरूले बताए ।

पर्यटन प्रवद्र्धनका लागि काठेपुलमा गाउँपालिकाको बैठक

झापाको हल्दिबारी गाउँपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन स्थानीय जलाशययुक्त भेलागढी उद्यानको बीचमा निर्मित काठेपुलमा हल्दिबारी महोत्सव आयोजना गरिने भएको छ । भेलागढी सामुदायिक वनको हाताभित्र रहेको सो उद्यानलाई लोकतान्त्रिक शहीद स्मृति उद्यान नामाकरण गरिएको छ ।

सोमबार बसेको उक्त गाउँ कार्यपालिकाको बैठकले हरेक वर्ष काग तिहारदेखि छठपर्वको भोलिपल्टसम्म सो उद्यानमा हल्दिबारी महोत्सव आयोजना गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिए। – रासस

प्रतिक्रिया दिनुहोस्