नाम सुधार गृह, काम चरम यातना



विराटनगर : उर्लाबारी–४ मा २०६२ सालदेखि सञ्चालनमा रहेको जीवन बचाउ उपचार सेवा गृहले गत कात्तिकमा मोरङकै कानेपोखरी गाउँपालिका ३ का ४० वर्षीय सूर्य भट्टराईलाई सुधार्ने जिम्मा लियो । मदिरा सेवन गरेर होहल्ला गरेपछि परिवारका सदस्यकै सहमतिमा सुधार गृह लगिएका सूर्यको अहिले दाहिने घुँडा सुन्निएको छ । उनी राम्ररी हिंडडुल गर्न पनि सक्दैनन् ।

 

परिवारका सदस्यले सुधार गृहमा दिइएको यातनाका कारण सूर्यको घुँडामा समस्या आएको गुनासो गरेका छन् । उनलाई भेट्न पुग्दा सुधार गृह सञ्चालकले भेट गर्न नदिएको माइला दाजु पुष्कर भट्टराईले बताए । उनले ७६ वर्षीया आमा विष्णुमाया र ८३ वर्षीय बुवा चन्द्रबहादुरले रुँदै छोरा खोजी गरिरहे पनि सुधार गृहले बाहिर निकाल्न नदिएको बताए ।

 

लागूपदार्थको कुलतमा फसेकालाई सुधार गर्दै समाजमा पुनर्स्थापना गर्ने उद्देश्यले सञ्चालन गरिएकाे उक्त सुधार गृह यातनागृहमा फेरिएको स्थानीयले गुनासो गरेका छन् । सुधार गृहमा सुधारका लागि राखिएका बिरामीलाई लामो समयदेखि शारीरिक तथा मानसिक यातना दिने काम भइरहेको उनीहरुको आरोप छ ।

 

स्वयंसेवकका रुपमा खटाइएका कर्मचारीले सुधारगृहमा राखिएका बिरामीलाई कुटपिट गर्ने, धम्की दिनेगरेको उर्लाबारी २ का वडाध्यक्ष राजन कँडेलले बताए । ‘सुधार गृहमा राखिएकालाई परिवारका सदस्यसँग भेटघाट गर्न पनि दिइँदोरहेछन्,’ उनले भने, ‘त्यसमाथि चरम यातना र धाकधम्की दिने काम हुँदोरहेछ ।’ 

‘काउन्सिलिङ’ गरेर सकारात्मक सोच विकास गराउँदै समाजमा पुनस्र्थापना हुने वातावरण बनाउनुपर्नेमा उल्टै कुटपिट गर्ने र यातना दिने काम हुने गरेको कँडेलको भनाइ छ । उनले सुधार गृहमा राखिएका एक आफन्तका बारेमा बुझ्न पुग्दा पूरै बेथिती पाएको बताए । उनले भने, ‘सुधार गृहमा मान्छे सुधार्नका लागि राख्ने हो । कुटपिट र यातना भोग्न हैन ।’ कँडेलले सुधार गर्ने नाममा दिइने यातना निर्मम हुने गरेको बताए ।

सुधार राखिएकासँग उनीहरुका आफन्तलाई समेत भेट्न नदिने गरेको आरोप लागेको छ । ‘भाइलाई भेट्न जाँदा धेरैपटक त दिएनन् एकपटक एक मिनेटजति भेट्न दिए पनि बोल्न दिएनन्,’ सुधार गृहमा राखिएका सूर्यका दाजु पुष्करले भने, ‘सुधार गृहमा मलाई धेरै कुटपिट भइरहेको छ, चाँडो निकाल्नु भनेर साङ्केतिक अपिल गर्दै भाइ रुन थाल्यो । म फर्केपछि दाजुलाई किन बोलाइस भनेर पाइप र लाठीले कुटपिट गरिएको पछि त्यहीं जाँदा थाहा पाएँ ।’ उनले राम्ररी खान र सुत्न समेत नदिने गरेको पाइएको बताए । सुधार गृहबाट निस्केकाहरुले त्यहाँ अत्यधिक यातना दिने गरेको बताउने गरेको पुष्करले सुनाए । 

 

उक्त सुधार गृहमा राखिएका उर्लाबारीका च्याङ्वा भनिने दावा तामाङको २०७३ साल साउन १२ गते मृत्युसमेत भएको थियो । गृहले मस्तिष्काघातका कारण मृत्यु भएको बताए पनि आफन्तले भने कुटपिट र यातनाका कारण मृत्यु भएको बताउँदै आएका थिए । दबाब र प्रभावकै भरमा त्यति बेला घटनालाई सामसुम पारिएको थियो ।

उनले जनप्रतिनिधि र प्रहरी प्रशासनको सहयोग लिएर मात्रै भाइलाई भेट्न सकेको बताए । ‘सुधार गृहमा पठाउँदा केही समस्या नरहेको भाइको अहिले घुँडामा चोट छ । घुँडा सुन्निएर ऊ हिंड्न पनि सक्दैन,’ उनले भने, ‘के कारणले घुँडा यस्तो भयो भनेर सोध्दा उल्टै सुधार गृह सञ्चालकले धम्की दिंदै मलाई नै कुट्न खोजे । धेरै कुरा बुझ्न पनि नदिईकन त्यहाँबाट मलाई नै बाहिर निकालिदिए ।’ गृहको भवनको माथिल्लो तलामा आफन्त र परिवारका सदस्यलाई समेत भेट्न नदिइ नजरबन्द जस्तो गरेर भाइलाई राखिएको पुष्करले बताए । 

पुष्करले धेरै पटक दबाब दिएपछि सूर्यलाई उपचारका लागि नजिकैको अस्पतालमा लगेको र अस्पतालले चोटका कारण घुँडामा इन्फेक्सन भइसकेको जनाएको बताए । उपचारमा संलग्न चिकित्सकले अन्यत्र उपचारका लागि लैजान भने पनि सुधार गृहले चासो नदिएको उनको भनाइ छ ।  ‘मैले भाइलाई त्यहाँबाट निकालेर अन्यत्र उपचारका लागि लैजान्छु भन्दा पनि दिएनन्, बन्धक बनाएर राखिरहेका छन्,’ पुष्करले भने । 

 

उक्त सुधार गृहमा राखिएका उर्लाबारीका च्याङ्वा भनिने दावा तामाङको २०७३ साल साउन १२ गते मृत्युसमेत भएको थियो । गृहले मस्तिष्काघातका कारण मृत्यु भएको बताए पनि आफन्तले भने कुटपिट र यातनाका कारण मृत्यु भएको बताउँदै आएका थिए । दबाब र प्रभावकै भरमा त्यति बेला घटनालाई सामसुम पारिएको थियो ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले सुधार गृहमा धेरै व्यक्तिलाई गैरकानुनी ढंगबाट राखेको पाइएको बताए । उनले कानुनी प्रक्रिया पूरा गर्न आग्रह गर्दा सञ्चालकले अटेर गरिरहेको बताए ।

 

‘दुर्व्यसनमा फसेकालाई सुधार गृहमा राख्न सरकारबाट मान्यता प्राप्त चिकित्सकले सिफारिस गर्नुपर्छ । स्थानीय प्रहरीसँग पनि समन्वय गरिनुपर्छ,’ उनले भने, ‘त्यहाँ भने कुनै प्रक्रिया पूरा गरेको देखिएन । कसरी सुधार गृह सञ्चालन भइरहेको छ भन्नेबारे खोजबिन जारी छ ।’ तिमल्सिनाले त्यहाँ राखेका कोही कसैले कुटपिट गरिएको र यातना दिएको भनी उजुरी पगरेमा सञ्चालकलाई कारबाही गर्न सकिने बताए । 

उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारीले सुधार गृहका बारेमा धेरै गुनासा आइरहेको बताइन् । ‘पहिल्यै पनि एकजनाको त्यहाँ मृत्यु भइसकेको छ,’ उनले भनिन्, ‘कतिपय त पारिवारिक झैझगडामा परेका मान्छेलाई पनि ल्याएर राखेको देखियो ।’ भण्डारीले सुधार गृहमा राखेर कोही कसैलाई पनि कुट्न र यातना दिन नपाइने विषयमा सचेत गराइसकिएको बताए ।

सुधार गृहका अध्यक्ष सागर राईले गृहमा कोही कसैलाई पनि यातना नदिएको दाबी गरे । ‘पहिले यातना दिइन्थ्यो । अहिले त्यो काम बन्द गरिएको छ,’ उनले भने, ‘गृहमा काम गर्ने कोही कर्मचारीले कुटेको पाएमा कारबाही गर्छौं । यातना दिनेभन्दा पनि कसरी सुधार गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेर काम गर्छौं ।’ राईले सबैजना बिरामीलाई परिवारका सदस्यकै सहमतिमा ल्याएर सुधारको बाटोतर्फ लग्ने काम भइरहेको दाबी गरे । 

उनले बिरामीलाई स्वास्थ्यमा कुनै समस्या आएको पाइएमा तत्काल उपचारका लागि लैजाने गरेको बताए । भट्टराईको भने कुटपिट गरेर नभइकन पहिले नै मोटरसाइकल दुर्घटनामा परेर घुँडामा समस्या रहेको राईको दाबी छ ।

सुधार गृहमा अहिले २३ जनालाई राखिएको छ । राईले सुधार गृहमा झापा, मोरङ, सुनसरीसहित भारतबाट समेत दुव्र्यसनमा लागेकालाई ल्याएर राखिएको बताए । बिरामीको बानी व्यवहारमा सुधार ल्याउन परामर्शदाता समेत राखेर ‘काउन्सिलिङ’ गर्ने गरिएको उनले दाबी गरे । 

 

 

प्रतिक्रिया दिनुहोस्