भैरहवा इपीएलकाे क्वालिफायर्समा, चितवन ४ विकेटले पराजित



काठमाडौं : चितवन टाइगर्सलाई चार विकेटले पराजित गर्दै भैरहवा ग्लाडियटर्स एभरेष्ट प्रिमियर लिगको क्वालिफायर्समा पुगेको छ । 

आज कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा टस जितेर भैरहवाले चितवनलाई व्याटिङको निम्तो दिएको थियो । जसमा चितवनले २० ओभर खेलेर आठ विकेट गुमाउदै १ सय ३९ रन बनायो । चितवनका लागि सन्दिप सुनारले चार रन बनाए भने कप्तान पृथु बास्कोटाले खाता खोल्न सकेनन् । 

पउल स्ट्रलिङ १४ रनमा आउट भए भने जोन सिम्पसन पनि १४ रनमा नै पेभेलियन फर्किए । यस्तै भिम शार्की र जर्ज स्कट पनि नौ नौ रनमा आउट भए । चितवनका लागि दिपेन्द्रसिंह ऐरीले अर्धसतकिय पारी खेल्दै ५६ रन बनाए भने कमलसिंह ऐरीले १३ रन बनाए । 

बलिङमा भैरहवाका मोहम्मद नाभिदले तीन तथा अभिनाश बोहराले दुई विकेट लिए ।

१ सय ४० रनको लक्ष्य लिएर मैदानमा उत्रिएको भैरहवाले १८ ओभर दुई बलमा ६ विकेट गुमाउँदै जित हात पारेको हो । मोहम्मद नाभिद र रवीइन्दर सिंह चार÷चार रनमा आउट भए भने रायन टेनले खाता खोल्न सकेनन् ।

प्रदिप ऐरी ४२ रन बनाएर आउट भए भने शरद भेषवाकर २९ तथा आरिफ शेख मात्र ६ रनमा आउट भए ।

त्यसपछि कुशल मल्लले २७ रन र रोहिकुमार पौडेलले २४ रनको योगदान दिँदै टोलीको जित पक्का गरे । 

फाइनल प्रवेशका लागि भैरहवाले काठमाडौंसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्