सुरक्षा खतरा रहेको प्रमाण देखाउन हुवावेको चुनौती



डोन्गुआन (चीन) : चीनको दूरसञ्चार कम्पनी हुवावेका अध्यक्ष केन हुले संयुक्तराज्य अमेरिका र विश्वका अन्य सरकारहरुलाई आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन चुनौती दिएका छन् । 

 

‘तपाइँसँग कुनै प्रमाण छ भने त्यसलाई सार्वजनिक गर्नुपर्यो’,  हुले भने, ‘सायद हुवावेविरुद्ध होइन र सायद यो आमजनतासँग सम्बन्धित पनि होइन होला । यो कार्य अरु टेलिकम कम्पनीका कारण भइरहेको हुन सक्छ किनभने उनीहरु हुवावेका सामग्री खरिद गर्न बाध्य भइरहेका छन् ।’ 

 

हुवावे टेक्नोलोजी लिमिटेडको मुख्यालयमा पत्रकारसँग अध्यक्ष हुले हुवावेका उत्पादनहरु कुनै ‘विचारधारा र भूराजनीतिक’ धारणाबाट निर्देशित छन् भन्ने आरोपमा सत्यता नरहेको दाबी गरेको समाचार एजेन्सी एपीले जनाएको छ । 

पत्रकारसँग हुले अस्ट्रेलिया र अरु बजारमा पाँचौं पुस्ताको दूरसञ्चार सञ्जाल विस्तारमा भइरहेको अवरोधले उपभोक्ता ठगिने बताए । उनले भने, ‘अरुका उत्पादन महङ्गा हुनेछन् र नवीन प्रविधिको परीक्षणमा अरु कम्पनीको काम गराइ ढिलो छ ।’ 

 

अस्ट्रेलिया र न्युजिल्यान्डले सुरक्षा खतराको कारण दर्शाउँदै पाँचौं पुस्ता (फाइभ–जी) को सञ्जाल विस्तारमा हुवावेलाई रोकेका छन् । यी दुई मुलुकले संयुक्त राज्य अमेरिका र ताइवानसँग पनि सहकार्य गरेका छन् । 

चारवटै देशले संगठित रुपमा हुवावेका उत्पादनलाई आफूकहाँ भित्रिन नदिन प्रयत्न गरिरहेका छन् । जापानको साइबर सुरक्षा निकायले जापान सरकारले हुवावेसमेतका उच्च जोखिमयुक्त संसाधन खरिद नगर्ने जनाएको छ । 

 

पछिल्ला कदमले हुवावेमाथि खासै असर भने परेको छैन । हुवावे अहिले विश्वकै सबैभन्दा ठूलो दूरसञ्चार नेटवर्क निर्माणकर्ता तथा पाँचौं पुस्ता (फाइभ–जी) को विकासमा अग्रणी कम्पनी हो । तर विश्लेषकहरुका अनुसार हुवावेमाथिको दबाब यथावत रहेमा सन् २०२२ सम्ममा यसको व्यवसायमा २० अर्ब डलरले कमी आउनेछ । 

खासगरी पाँचौं पुस्ताको उपकरण विकास गरेपछि हुवावेमाथि आक्रमण सुरु भएको हो । यो प्रविधिले स्वचालित कार, मेडिकल उपकरण तथा विद्युतीय प्लान्टसमेतका स्थानमा टेलिकम प्रदायक कम्पनीहरुलाई मद्दत गर्छ जसको अथाह आर्थिक सम्भावना छ । पाँचौं पुस्ताको प्रविधि विकासले टेलिकम नेटवर्कलाई मुलुकको रणनीतिक राष्ट्रिय पुँजीका रुपमा लिन थालिएको छ । 

प्रतिक्रिया दिनुहोस्