विद्यालयको लापरबाहीले बालकको ज्यान गयो



सुर्खेत : विद्यालयको लापरबाहीकै कारण दैलेखका ६ वर्षीय हिक्मत शाहीको ज्यान गएको पाइएको छ । विद्यालय हाताभित्र रहेको पानी ट्यांकी घेरबार नै नगरेका कारण खुला ट्यांकीभित्र खस्दा बालकको ज्यान गएको प्रहरीले पुष्टि गरेको हो । 

दैलेख सदरमुकामस्थित एक निजी विधालयको पानी ट्यांकीमा मृत अवस्थामा भेटिएका शाही मंगलबार बिहानदेखि हराएका थिए । भविष्य बनाउन भनेर विद्यालय गएका शाहीले त्यहीँको पानी ट्यांकीमा परेर ज्यान गुमाएका छन् । साँझ घरमा नफर्केपछि अभिभावकको उजुरीको आधारमा प्रहरीले खोजी गर्दै जाँदा बुधबार बिहान सनराइज बोर्डिङ स्कुलको चौरमा रहेको पानी ट्यांकीभित्र उनको शव भेटिएको हो । 

प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा विद्यालयको लापरबाही भेटिएको भन्दै विद्यालयका सञ्चालक बालकृष्ण केसीसहित १२ जना शिक्षकलाई नियन्त्रणमा लिएको छ । विद्यालय हातामा जोखिमपूर्ण अवस्थामा पानी ट्यांकी राखेकाले बालकको ज्यान गएको भन्दै प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

विद्यार्थी खेल्ने मैदानमै करिब ८ फिट गहिरो ट्यांकी निर्माण गरी आधा पानी भरिएको अवस्थामा खुला छाडिएको छ । जिल्ला प्रहरी प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलले विधालयको खेल्ने मैदानमै जोखिमपुर्ण ट्यांकीलाई घेरबार नगरी खुला छाडेका कारण बालकको ज्यान गएको बताए ।

 

उनले यसमा विद्यालय सञ्चालक र शिक्षक दोषी पाइएको जानकारी दिए । उनले आवश्यक अनुसन्धान गरी दोषीहरुलाई कानुनी कारबाही गरीने जानकारी दिए । शवको बुधबार जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्