घरबाटै समातिए नागरिकता किर्तेका फरार प्रतिवादी 



विराटनगर : अदालतले दोषी ठहर गरेपछि फरार छ अभियुक्तलाई प्रहरीले बुधबार मोरङको जहदा गाउँपालिका २ बाट पक्राउ गरेको छ । नागरिकता किर्ते मुद्दामा दोषी ठहर भएको साढे चार वर्षपछि उनीहरु पक्राउ परेका हुन् ।

 

मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठका अनुसार जहदा २ का २८ वर्षीय रामपृत साह, ५५ वर्षीय पञ्चु साह, ६५ वर्षीय सूर्यनारायण साह तेली, ५५ वर्षीय डोमी पासवान, ३५ वर्षीय श्रवणकुमार साह र ४५ वर्षीय रविलाल मण्डललाई पक्राउ गरिएको छ । लामो समयदेखि फरार सूचीमा रहेका सबैजनालाई आआफ्नै घरमा बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुलाई जिल्ला अदालत मोरङले २०७१ साल साउन १६ गते ‘किर्ते नागरिकता’ मुद्दामा जनही २५÷२५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । अदालतको फैसलापछि सबै फरार थिए । पक्राउ परेकालाई प्रहरीले जरिवाना असुलीका लागि अदालतमा पेस गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्