काङ्ग्रेस नेता आलमको म्याद सात दिन थप



रौतहट : रौतहटको राजपुर बमकाण्डका आरोपी निलम्बित सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमको म्याद अदालतले सात दिन थप गरेको छ । अनुसन्धानका लागि प्रहरीले थप समय मागेपछि जिल्ला अदालत रौतहटका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले कात्तिक ३ गतेसम्म अनुसन्धानका लागि प्रहरीलाई म्याद प्रदान गरेको हो ।

विसं २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा यही असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो । निकै कडा सुरक्षा व्यवस्थाबीच अदालत पु-याइएका आलमले न्यायाधीशसामु सो घटनाको मुद्दा ०६५ मै नचल्ने निर्णय भएको र अहिले आफूलाई सोही मुद्दाका कारण पक्राउ गरिएकोमा आश्र्चय लागेको बताए ।

अदालत परिसरबाट बाहिरिँदै गर्दा आलमले घटनाको ‘दूधको दूध र पानीको पानी’ चाँडै छुट्टिने प्रतिक्रिया दिए । उनले आफूले अदालतको सम्मान गर्ने र मुद्दाका विषयमा पछि कुरा गर्ने बताए । म्याद थपपछि आलमलाई पुनः जिल्ला प्रहरी कार्यालय, रौतहट पु-याइएको छ ।

यता आलम पक्राउ परेपछि पीडित परिवारलाई न्याय पाउने आश पलाएको छ । जाहेरीकर्ता तथा मृतक त्रिलोकप्रताप सिंहका बुबा ७९ वर्षका श्रीनारायण सिंहले घटनाको १२ वर्षपछि न्याय पाउने आश पलाएको बताए । ठूलो मान्छेले अपराध गर्दा सजाय हुन्छ कि हुँदैन भन्ने कुरा अब अदालतको निर्णयपछि थाहा हुने उनको भनाइ छ । भोलिका दिनमा कसैले यस्तो जघन्य अपराध नगरुन् भन्नका लागि पनि न्यायालयले दोषीलाई कारवाही गर्नुपर्ने उनको माग छ । रासस

प्रतिक्रिया दिनुहोस्