मेक्सिकोका राष्ट्रपतिले फिर्ता गरे तलब



मेक्सिको सिटी : मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफ्नो तलबको एकतिहाइ रकम राज्यकोषमा फिर्ता गरेका छन् । 

उनले यही डिसेम्बर १ बाट लागू हुनेगरी राज्यकोषबाट आफूले प्राप्त गर्ने तलबको एकतिहाइ फिर्ता गर्न थालेकाे समाचारमा जनाइएको छ । उनले अघिल्लो दुई हप्ताको २९ प्रतिशत तलब फिर्ता गरेकाे राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

एक पत्रकार सम्मेलनमा उनले अब आफ्नो मासिक तलब पाँच हजार ३ सय ७३ डलर पुगेको र त्यसलाई मितव्ययी भई सदुपयोग गर्ने योजना बनाएको जानकारी दिए । 'मैले फिर्ता गर्ने भनेको रकम राज्यकोषमा फिर्ता गरिसकेको छु,' लोपेजले पत्रकारसँग भने । 

उनले सर्वोच्च अदालतका न्यायाधीशसहित सार्वजनिक सेवामा रहेका अन्य उच्च पदाधिकारीलाई पनि आफ्नो तलब सामाजिक सेवामा लगाउन आह्वान गरेका छन् ।देशको ठूलो कर्मचारीतन्त्रका विषयमा जनताले प्रश्न उठाएकाले त्यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्