दर्ता शुल्क १० लाख, मतदातालाई प्रभावित पार्न रक्सीको खोलो बगाईयो



काठमाडौँ : ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएन)को नवौं विश्व सम्मेलनमा कुमार पन्त र कुल आचार्य समूहबीच नेतृत्वको लागि प्रतिस्पर्धा हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट हिजो मंगलबार उद्घाटन भएको सम्मेलनमा आज नेतृत्वका लागि निर्वाचन हुँदैछ । तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी यस सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचनमा यसपटक नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यबीच भिडन्त हुँदैछ ।

कूल ४२ पदका लागि दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ । गैरआवासीय नेपाली सङ्घको निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ । सङ्घको असोज २९ गते बुधबार हुने निर्वाचनमा उम्मेद्वारी दर्ता शुल्क रु एक लाखदेखि १० लाखसम्म तोकिएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिए ।

राससका अनुसार गत महाधिवेशनमा अध्यक्षको उम्मेदवारको दर्ता शुल्क रु सात लाख ५० हजार रहेको थियो । गत महाधिवेशनभन्दा यसवर्ष रु दुई लाख ५० हजार बढाएर रु १० लाख पु¥याइएको हो ।

निर्वाचन प्रमुख आयुक्त रिजालका अनुसार उपाध्यक्षको रु सात लाख, महासचिवको रु छ लाख, सचिव र कोषाध्यक्षको रु पाँच लाख, सहकोषाध्यक्षको रु चार लाख, महिला तथा युवा संयोजकको रु तीन लाख ५० हजार, क्षेत्रीय संयोजकको रु तीन लाख ५० हजार, क्षेत्रीय उपसंयोजकको रु दुई लाख ५० हजार, क्षेत्रीय महिला तथा युवा संयोजकको रु दुई लाख ५० हजार र आईसीसी सदस्यहरुको रु एक लाख उम्मेदवार दर्ता शुल्क तोकिएको छ ।

सम्मेलनबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव अन्य पदाधिकारीलगायत विभन्न पदकालागि कुल ४२ जना निर्वाचित हुनेछन् । संघको अध्यक्षमा एकजना, उपाध्यक्षमा ५ जना (एक महिलासहित)्र, महासचिवमा १ जना, सचिवमा २ जना, कोषाध्यक्ष, सह कोषाध्यक्ष, महिला संयोजक र युवा संयोजकमा १÷१ जना निर्वाचित हुने छन् । यसैगरि, हरेक क्षेत्रीय समितिबाट एक÷एकजना गरी ६ जना क्षेत्रीय संयोजकहरू यस सम्मेलनबाट निर्वाचित हुने छन् ।

त्यसैगरी क्षेत्रीय उपसंयोजक अन्तर्गत यसपटक युरोप क्षेत्रबाट ३ जना निर्वाचित हुने छन् । विधान बमोजिम युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने निर्वाचन समितिको सूचनामा उल्लेख छ । त्यस्तै एसिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २-२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट १-१ जना क्षेत्रीय उप संयोजकमा निर्वाचित हुन पाउने छन् । प्रत्येक क्षेत्रबाट १-१ जनाका दरले ६-६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक चयन हुने सो संघका प्रवक्ता भुषण घिमिरेले जानकारी दिएका छन् ।

संघको आगामी नेतृत्वका लागि अहिलेसम्म अध्यक्ष पदमा जर्मनीबाट कुमार पन्त र बेलायतबाट कुल आचार्यले उम्मेदवारी दर्ता गरएका छन् । पन्त वर्तमान उपाध्यक्ष हुन् । गोर्खाको फुजेलका पन्त सन् १९९९ देखि जर्मनीमा व्यवसाय गरेर बसेका छन् । यसैगरी, संघको आगामी नयाँ नेतृत्वका लागि अध्यक्षमा उमेदवारी दर्ता गरेका आचार्य पनि संघका केन्द्रीय उपाध्यक्ष हुन् ।

अहिले यी सम्मेलनस्थाल र सहभागी बस्ने होटेलहरुमा चुनावी र्सगर्मी बढेको छ । उम्मेदवारहरु मत माग्न व्यस्त छन् । एक सहभागीका अनुसार संघको अध्यक्षमा पन्त विजयी बन्ने प्रबल संभावना देखिएको छ भने नेतृत्वमा दुबै पक्षका मिश्रित परिणाम आउने देखिन्छ । महासचिवमा प्रजातान्त्रिक समूह सम्बद्ध उम्मेदवारहरुको भिडन्त देखिएको छ ।

मतदातालाई प्रभावित पार्न दुबै पक्षले होटेल–होटेलमा रक्सीको खोलो बगाएका छन् । ठाउँठाउँमा मतदाताहरु भेला पारेर ककटेल डिनर समेत दिएको थियो । यसपटकको यो चुनावलाई हेर्दा विदेश बस्ने सुकिलामुकिला र धनाढ्यबीचको प्रतिस्पर्धा भए पनि संसदीय निर्वाचनलाई विर्साउने गरी चुनावी प्रचारप्रसार देखिएको छ । यसले एनआरएनको साखमाथि प्रश्न उठाएको एक सहभागी बताउँछन् ।

नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र एनआरएनएको संयुक्त आयोजनामा हुने सो सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् भने समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको सो संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्