काठमाडौंमा ७७ पाकेटमार पक्राउ



काठमाडौं : विभिन्न सार्वजनिक बस तथा माइक्रोबसका यात्रुको नगद, मोबाइल, गरगहना चोरी गर्ने कार्यमा संलग्न ७७ जनालाई विभिन्न स्थान र समयमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । 

सार्वजनिक सवारीसाधनमा यात्रा गर्ने यात्रुको धनमाल हराउने तथा चोरी हुने घटना बढ्दै गएको सूचनापछि प्रहरीले राजधानीमा सादा पोसाकमा प्रहरी खटाएको थियो ।

यातायात व्यवसायीसँग सहकार्य गरी सादा पोसाकमा गत मंसिर १५ गतेबाट खटिएको प्रहरीले उनीहरुलाई यात्रुको सामान चोरी गर्दागर्दै पक्राउ गरेको हो ।

    

पकेटमारी भएको रकममध्ये ५ लाख ९६ हजार रुपैयाँ तत्काल सम्बन्धित व्यक्तिहरुलाई फिर्ता गरिएको छ ।

बरामद भएका मध्ये १ लाख ६० हजार ७ सय रुपैयाँ र मोबाइल ३९ थान, आइप्याड ४ थान र ल्यापटप ५ थान सम्बन्धित व्यक्तिको पहिचान गरेर फिर्ता गर्ने क्रममा रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । 

पकेटमारहरु २/२ जनाको समूह बनाई सार्वजनिक सवारीसाधनमा चढ्ने गरेको पाइएको छ ।  सवारीसाधनभित्र अगाडिपछाडिबाट यात्रुलाई घेराबन्दी गरेर ठेलमठेलको अवस्था बनाई सांकेतिक भाषा प्रयोग गरी चोरी गरेर उनीहरु गाडीबाट ओर्लने गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्