मेलम्ची आयोजनाको समस्या समाधान हुन्छः खानेपानीमन्त्री



काठमाडौं : खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या संयमित ढङ्गबाट समाधान गरिने बताएकी छिन् ।  

खानेपानी मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उनले भनिन्, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले हाम्रो पहिलो ध्यान यसमा छ । मेलम्चीका कारण मन्त्रालयका अन्य आयोजना तथा कार्यक्रम भने प्रभावित हुने छैनन् ।” 

देशैभरि आधारभूत खानेपानीको पहुँच पुर्‍याउन मन्त्रालयले ठोस कार्यक्रम तीव्रताका साथ अघि बढाउने उनले जानकारी दिइन् । मन्त्री मगरले तीन वर्षभित्र जनतामाझ आधारभूत खानेपानीको सुनिश्चितता गर्न ढिलाई नगरी कार्यक्रम अघि बढाइने बताइन् ।  

खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले पूँजीगत खर्च बढाउँदै अन्य आयोजनाका काम तीव्ररुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनील दासले खानेपानीको पहुँच नपुगेका देशैभरीका नगरपालिका, गाउँपालिका, वडा तथा टोलको पहिचान गरी तथ्याङ्क सङ्कलन गरेर योजना पुस्तक तयार पारिएको जानकारी दिए । 

राष्ट्रिय योजना आयोगका सहसचिव विजुकुमार श्रेष्ठले गुणस्तरीय खानेपानीको पहुँच पुर्‍याउने गरी कार्यक्रम जनतामाझ लैजान आग्रह गरे ।  

अर्थ मन्त्रालयका उपसचिव गौरीशंकर उपाध्यायले मेलम्ची खानेपानी आयोजनाको काममा बजेट अभाव हुन नदिन अर्थ मन्त्रालय गम्भीर रहेको स्पष्ट पारे । उनले भने, “मेलम्ची राष्ट्रिय गौरवको आयोजना हो, अहिले जे जस्तो समस्या आएपनि बजेटको समस्या होला कि भनेर चिन्ता लिनु पर्दैन, मेलम्चीलाई चाहिने जति बजेट हामी उपलब्ध गराउँछौं ।” 

प्रतिक्रिया दिनुहोस्