घट्यो कुखुराको मूल्य, बढ्यो सागको भाउ



काठमाडौं : कुखुराको मासुको मूल्य सागकै हाराहारीमा आएको छ। उपत्यकाबाट सर्वसाधारण बाहिरिएसँगै कुखुराको मासुको मूल्य हरियो साग सरहनै भएको हो।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको मूल्यसूची अनुसार प्रति किलो जिरीको सागको मूल्य दुई सय ८० रुपैयाँ छ। कुखुराको मासुको मूल्य पनि दुई सय ८० रुपैयाँ नै छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी महासंघले मंगलबारको लागि प्रति किलो ब्रोइलर कुखुराको मासुको खुद्रा मूल्य दुई सय ८० रुपैयाँ तोकेको छ।

दशैंमा सर्वसाधारण उपत्यका छाडेर बाहिरिन थालेसँगै कुखुराको मासुको माग घटेकोले मूल्य ह्वातै घटेको संघका अध्यक्ष जगतबहादुर बिसीले बताए। उनका अनुसार सर्वसाधारणले दशैंमा उपत्यका छाड्दै गएका कारण मासुको माग समेत घट्दै गएको हो। होटेल, रेस्टुरेन्ट, कलेज, होस्टेल लगायत समेत दशैंमा बन्द भएपछि कुखुराको मासुको माग ह्वात्तै घटेको बिसीले बताए।

दशैंमा उपत्यकामा रहेका सर्वसाधारणको रोजाइमा खसी, बोका र च्याङ्ग्रा पर्ने गर्छ। उपत्यकामा दैनिक दुई देखि तीन लाख किलो कुखुराको मासुको माग छ।उनका अनुसार अहिले डेढ लाख किलो मासु पनि बिक्री हुन मुस्किल भएको छ। मासुको माग घटेसँगै कुखुरा पालक किसान समेत मर्कामा परेका छन्।

किसानले एउटा कुखुरा तयार गर्न कम्तीमा ४० देखि ५० दिन सम्म पाल्नु पर्छ। सो अवधिमा एक कुखुरा दुई देखि तीन केजी सम्मको हुने गर्छ। तोकिएको अवधि भन्दा बढी कुखुरा पाले लागत बढ्न जाने हुँदा तयार भएका कुखुरा बिक्री गर्नुको विकल्प रहँदैन। सोही कारण किसानले जति मूल्य भएपनी बाध्य भएर बिक्री गर्नु पर्छ।

अहिले किसानले प्रति किलो जिउँदो कुखुराको मूल्य प्रति किलो डेढ सय रुपैयाँ पाउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्