के चिनियाँ राष्ट्रपति सीको पथमा हिड्दैछ नेकपा र यो सरकार ?



काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टी र सरकार सञ्चालनमा ‘स्वच्छता र सुशासन’ लागु गर्न सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षका बीचमा भएको ‘वान टु वान’ छलफलमा अध्यक्षद्वय यो निष्कर्षमा पुगेका हुन् ।

नेपालको दुई दिने राजकीय भ्रमणमा नेपाल आएका चिनियाँ राष्ट्रपति सी जिनपिङले नेकपाका नेतालाई ‘स्वच्छता र सुशासन’ मा ध्यान ध्यान दिन सुझाव दिएपछि यसले सत्तारुढ पार्टीलाई चनाखो बनाएको छ । तर यसलाई प्रयोग गर्ने नीति र विधि के हुने र कस्ता कार्यक्रमहरु बनाएर यसको क्रियान्वयन हुने भन्ने बारेमा नेकपाले मुख खोलेको छैन ।

पार्टी र सरकार सञ्चालनमा सीको सो सुझाव ‘रामवाण’ साबित हुने भए पनि सिंगो पार्टीपंक्ति र सरकारको विसाल संयन्त्रमा यसको कार्यान्वयनका विधि र तरिकाहरु अवश्य पनि फरक हुने छन् । फेरि सिंगो पार्टीपंक्ति विश्वस्त हुन र त्यसलाई व्यवहारतः लागू गर्न गराउन श्रृंखलावद्ध अभियानको जरुरी हुने देखिन्छ ।

विसाल सरकारी संयन्त्रमा यसको कार्यान्वयन त महाभारतका पर्वहरु र रामायणका काण्डहरुको श्रृंखला नै पार गर्नु पर्दछ । राजनीति र राजनीतिक प्रक्रिया समाज विज्ञानमा आधारित प्रक्रियाहरु हुन् । यी विशुद्ध रुपमा कुनै ल्याब वा प्रयोगशालामा सिमित भएर गरिने कुराहरु होइनन् ।

यिनका पछाडि विभिन्न सामाजिक तहतप्का, भिन्न मनोवैज्ञानिक बनोट, वुद्धि, विवेक र चेतनाका अन्तर, भिन्न विचारको प्रभाव, विभ्रमको चिरफार, वैज्ञानिकताको पुष्टि, अथक र प्रतिवद्ध नेता तथा कार्यकर्ता, जनविश्वास र अटुट प्रेरणा आदि जस्ता कुराले काम गर्ने गर्दछन् ।

तथापि यसको सुरुआत थोरै संख्यामा रहेका शीर्ष नेताहरुबाट गरियो भने संभव भने देखिन्छ । यसले कम्युनिष्ट पार्टीका साथै सरकार बलियो बनाएर अगाडि बढ्न सघाउ पुर्याउने छ । यस विषयमा पार्टी सचिवालय बैठकमा समेत गम्भीर समीक्षा हुने बताइएको छ । शायद यति नै बेला स्वच्छता र सुशासनको बारेमा गम्भीर छलफलसहित यसको नीति र विधि तय गरिने छ ।

राष्ट्रपति सीसँगको शिष्टाचार भेटमा नेकपाका अध्यक्ष दाहाल सहित वरिष्ठ नेताहरु एवं पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, सचिवालय सदस्यहरु वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, महासचिव विष्णु पौडेल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी हुँदा यसका बारेमा गम्भीर रुपमा छलफल भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्