जानकी मेडिकल कलेज : पढाइदेखि सेयर हस्तान्तरणसम्म घोटाला



काठमाडौं : एमबीबीएस कार्यक्रमका लागि प्रवेश परीक्षा नदिएका विद्यार्थी भर्ना गरेको र त्यस भर्नालाई वैध बनाउने चलखेल भइरहेको भन्दै चिकित्साक्षेत्र सुधारका लागि निरन्तर आन्दोलनमा रहेका डा. गोविन्द केसीले धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजको सम्बन्धन खारेजीको माग गरेका छन् । 

जानकी मेडिकल कलेजले निर्धारित प्रक्रिया र मापदण्ड पूरा नगरी भारतीय विद्यार्थी भर्ना गरेको र त्यसलाई वैध बनाउन नानाथरिका उपाय खोजिरहेको चर्चाका बीच कलेजकै सम्बन्धन खारेजी गर्न डा. केसीले माग गरेका हुन् । 

विद्यार्थी भर्नासम्बन्धी विषयमा कलेजले दायर गरेको रिट निवेदनलाई पुनरावेदन अदालत पाटनले खारेज गरेको छ । रिट खारेजीपछि कलेज व्यवस्थापनले भर्नालाई वैध तुल्याउन चोरबाटो खोज्न थालेको छ । 

यद्यपि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइएमओ)ले भने बेरीतपूर्वक गरिएको भर्ना अमान्य हुने जनाइसकेको छ । 

डा. केसीले अदालतको आडमा चिकित्साशिक्षाका लागि अयोग्य विद्यार्थी भर्ना भइरहेकोमा चिन्तासमेत व्यक्त गरेका छन् । संस्थानले जानकी मेडिकल कलेजले प्रक्रिया मिचेर भर्ना गरेका ३४ भारतीय विद्यार्थीलाई पुस ५ गतेदेखि हुने एमबीबीएस पहिलो वर्षको परीक्षामा सामेल नगराउने भएको छ ।

कलेजले एमबीबीएस पहिलो वर्षको अन्तिम परीक्षाका लागि ८० विद्यार्थीको फर्म आइएमओमा पठाएको थियो । आइएमओका डिन डा. जगदीशप्रसाद अग्रवालले जानकी मेडिकल कलेजका ती ८० विद्यार्थीमध्ये ४८ जना विद्यार्थीमात्र भर्ना भएको आफूहरूको जानकारीमा भएको बताए । 

पटकपटक सञ्चालक परिवर्तन, अनियमितता र चलखेलका कारण करिब एक दशकयता निकै विवादित रहँदै आएको जानकी मेडिकल कलेजलाई आइएमओले धेरैपटक कार्बाही गरेको छ । 

कोटा कटौतीसम्मको कार्बाही भोगेको जानकी मेडिकल कलेजमा नियमित र स्तरीय पढाइ नहुने, परीक्षामा मर्यादा कायम नहुने र कलेजका शिक्षण अस्पतालहरूमा चिकित्सक, स्वाथ्यकर्मी तथा आवश्यक उपकरण नहुँदा बिरामीहरू नपुग्ने समस्या रहँदै आएका छन् । 

‘कलेजमा वार्षिक शैक्षिक क्यान्डेरअनुरूप विद्यार्थीहरू पढ्न पाएका छैनन्, बाँकीबक्यौतालगायत कारणले कलेज र शिक्षण अस्पतालमा जुनसुकै बेला पनि ताल्चा झुन्डिएका हुन्छन्,’ कलेजका एक कर्मचारीले भने । 

सञ्चालकहरूले विद्यार्थी भर्नाका बेला कलेजलाई दुधालु गाईझैं दोहन गर्ने र त्यसपछि थारो गाईंझै सडकमा छाडिदिने प्रवृत्तिका कारण कलेज अस्तव्यस्त बनेको उनको भनाइ छ । मेडिकल शिक्षामा यो हदसम्मको लापरबाही कतै नदेखिएको उनको निष्कर्ष छ ।

रोकिएन सञ्चालक फेरिने क्रम

नेपाल सरकारका वरिष्ठ अधिकारीबाट सेवानिवृत्त भएपछि डा. रामानन्द सिन्हाको अगुवाइमा जनकपुरक्षेत्रमा जानकी मेडिकल कलेज स्थापना गरिएको थियो । आरम्भमा डा. सिन्हासँगै ओमप्रकाश पाण्डे, अशोक सिन्हा र टीका पौडेललगायत सेयरधनी रहेको कलेजमा केही वर्षपछि लगातार सञ्चालक परिवर्तन भइरहे । 

द सहारा सर्लाही, बलराम गुप्ता, कनक सुवेदी, समीर ढुंगेल आदि बीचको समयमा सञ्चालकका रूपमा थपिए भने त्यसअघि अशोक सिन्हाको बहिर्गमन भयो । 

श्रीचन साह, टीका पौडेल र कनक सुवेदीको सेयर किनेका समीर ढुंगेलले अरूलाई नै सेयर बेचे । सेयर किनबेच भइरहेकै बेला पूर्वप्रधानमन्त्री झलनाथ खनालका स्वकीय सचिव राजेश थापासम्मले सेयर किने । 

कलेजको सेयर किनबेचमा समेत अनियमितता भएको जानकारहरूको भनाइ छ । ‘सेयर हस्तान्तरण हुने कानुनी प्रक्रिया अपनाइएको छैन । जसले गर्दा सरकारलाई ठूलै परिमाणमा राजस्व क्षति भएको छ,’ एक पूर्वसञ्चालकले भने, ‘छानबिन हुने हो भने यो एनसेल कर छली प्रकरणकै स्वरूपमा छर्लङ हुनेछ ।’

प्रतिक्रिया दिनुहोस्