राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान, शीतलनिवासबाट हेलिकोप्टर चढेर एयरपोर्ट



फाइल फोटो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आज (बुधबार) म्यानमार प्रस्थान गरेकी छिन् ।

म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकिय भ्रमणका लागि म्यानमार प्रस्थान गरेकी हुन् ।

भण्डारी शीतलनिवासबाट हेलिकोप्टर चढेर विमानस्थल पुगेकी थिइन् । जसका कारण भीभीआइपी सवारी हुँदा सर्वसाधारणले जुन सास्ती खेप्नुपर्छ, त्यो भने यसपटक झेल्नु परेन ।

म्यानमारतर्फ प्रस्थान गर्नुअघि उनलाई विमानस्थलमा उपराष्ट्रपति, प्रधानमन्त्री, सरकारका मन्त्रीलगायतले बिदाइ गरेका छन् ।

म्यानमारमा उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्विपक्षीय सम्बन्धबारे कुराकानी गर्नेछिन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा पनि भेट्ने कार्यक्रम छ । उनले ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत सहभागी हुनेछन् । भण्डारी राजकीय भ्रमण सकेर कात्तिक ३ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्