कर्मचारी आन्दाेलन : पारिलाे घाममा गफ र खाजा



काठमाडाै‌ं : कञ्चनपुर र धनगढीका स्थानीय तहका कर्मचारी समायोजन अध्यादेशको विरोधमा उत्रेका छन् । बुधबार पनि देशभरका कर्मचारी विभिन्न सरकारी कार्यालयमा प्रदर्शन गरेका छन् ।


घाम तापेर, गफ चुटेर आन्दोलन

ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समितिमा आबद्ध कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका कर्मचारी नेपाल सरकारबाट जारी भएको कर्मचारी समायोजन अध्यादेशमा सबै कर्मचारी समायोजनका लागि समान व्यवहार नभएको जनाउँदै कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुको आन्दोलन कति गज्जब कार्यालय बन्द गर्‍यो । पारिलो घाममा गफ, खाजा खाँदै बित्छ ।

 

यस्तै धनगढी उपमहानगरका कर्मचारीको आन्दोलन पनि यस्तै नाटकिय ढङ्गले बित्छ । उनीहरु बिहान १० बजे कार्यालय खोल्छन्, कार्यालयभित्र पुगेर हाजिर लगाउँछन् । त्यसपछि कुर्सी समाएर कार्यालयअघिको चौरमा बसेर बदाम खाँदै दुनियाँभरका गफ चुट्छन् ।

 

बुधबार पाँचौं दिनसम्म सेवाग्राहीलाई मर्कामा राखेरै बदाम, खाजा खाएर, घाम तापेरै दिन बिताउँदै आएका छन् ।

आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने पनि उनको भनाइ छ । सामान्य प्रशासन मन्त्रालयले हालै जारी गरेको कर्मचारी समायोजन अध्यादेश २०७५ प्रति असन्तुष्टि जनाउँदै जिल्लाका साविक स्थानीय निकायमा कार्यरत कर्मचारी आन्दोलित भएका हुन् ।

 

अध्यादेशमा साविक स्थानीय निकायमा कार्यरत कर्मचारीका सम्बन्धमा कुनै कुरा सम्बोधन नभएको भन्दै चारवटा ट्रेड यूनियन संगठनहरु देशैभरका स्थानीय तह ठप्प पार्ने गरी आन्दोलनमा उत्रिएका हुन् ।

 

नेपाल नगरपालिका कर्मचारी एशोसियसन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र नेपाल कर्मचारी यूनियन स्थानीय तहले संयुक्त रुपमा चरणवद्ध आन्दोलन गर्ने बताएका छन् ।

 

संघीय निजामती कर्मचारीहरुलाई प्रदेश तथा स्थानीय तहमा समायोजन गर्दा अपनाइने सिद्धान्त व्यवहार र मापदण्डकै आधारमा साविक स्थानीय निकायमा कार्यरत कर्मचारीहरुलाई समेत नेपालको संविधान अनुसार समायोजन गर्ने गरी अध्यादेशमा संशोधन र परिमार्जन गर्ने व्यवस्था हुनुपर्ने माग अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्