नेकपा स्थायी कमिटी बैठक केही दिन चल्ने



काठमाडौं : नेकपा स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमथिको छलफल जारी रहेकाले बैठक सकिन अझै केही दिन लाग्ने देखिएको छ । 

आजको बैठकमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आआफ्नो विचार व्यक्त गरे ।

गत शनिबार शुरु भएको ४५ सदस्यीय स्थायी कमिटी बैठकमा आजसम्म २८ जनाले आफ्नो धारणा राखेका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफल जारी रहेको हो । 

प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् ।

बैठकमा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पुरक प्रतिवेदन पेश गर्नुभएको छ । बैठक बिहीबार बिहान ८ बजे पुनः बस्नेछ । 

प्रतिक्रिया दिनुहोस्