जनस्वास्थ्य कार्यालय अब स्वास्थ्य कार्यालय, कम्तीमा दुई जिल्ला हेर्ने



बैतडी : देश संघीयतामा गएपछि केही कार्यालय स्थानीय तह मातहत सञ्चालन भएका छन् भने केही प्रदेश मातहत पुगेका छन् । त्यसैअनुरूप जिल्ला जनस्वास्थ्य कार्यालय पनि दुई वा दुईभन्दा बढी जिल्ला हेर्नेगरी स्वास्थ्य कार्यालयमा रूपान्तरण भएका छन् । 

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले बैतडी र दार्चुला हेर्ने गरी बैतडीमा स्थापना गरिएको स्वास्थ्य कार्यालय उद्घाटन गरेका छन् । प्रदेशका सबै स्वास्थ्य कार्यालयको उद्घाटनमा व्यस्त मन्त्री सुवेदीले बैतडीको जिल्ला अस्पताल र सो अस्पतालको निर्माणाधीन भवन पनि निरीक्षण गरे ।  

उद्घाटन कार्यक्रममा उनले कार्यालय स्थापना भएपछि स्वास्थ्यमा आम नागरिकको पहुँच झनै सहज भएको बताए । उनले स्वास्थ्य स्वयंसेविकाका लागि वार्षिक १० हजार रकम विनियोजन गरिएको जानकारी दिँदै छिट्टै स्थानीय तहलाई त्यससम्बन्धी अख्तियारी पठाउने बताए ।

कार्यक्रमका अधिकांश सहभागीले बैतडीका स्वास्थ्य चौकी र अस्पतालमा दरबन्दीअनुसारका कर्मचारी नभएकाले कर्मचारी पठाइदिन मन्त्री सुवेदीलाई अनुरोध गरेका थिए । 

सुदूरपश्चिम प्रदेशमा स्थापना भएका स्वास्थ्य कार्यालय बैतडीले बैतडी र दार्चुला, स्वास्थ्य कार्यालय कैलालीले कैलाली र कञ्चन्पुर, स्वास्थ्य कार्यालय डडेलधुराले डडेल्धुरा, बझाङ र डोटी, स्वास्थ्य कार्यालय अछामले अछाम र बाजुरा हेर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्