गर्भवती महिलाले मट्टितेल छर्केर आफ्नै शरीरमा लगाइन् आगो



जनकपुरधाम : भागेर बिहा गरेकी एक युवतीले शरीरमा मट्टितेल छर्केर आत्महत्या गर्ने प्रयास गरेकी छिन् । घटना जनकपुरधाम उपमहानगरपालिका–२ विद्यानगरको हो । यो ठाउँ वकिलटोल भनेर चिनिने क्षेत्रमा पर्छ ।  

जनकपुरका सञ्चारकर्मी काशीन्द्र शर्माका अनुसार गर्भावस्थाको अन्त्यतिरकी करिब २१ वर्षकी नाउँ नखुलेको ती युवतीलाई जलेको अवस्थामा बुधबार अबेर राति जनकपुर अञ्चल अस्पतालमा उपचारका लागि ल्याइएको छ । डेढ वर्षकी बच्चाकी आमासमेत रहेकी उनले करिब २४ वर्षीय पतिसँग झगडा भएकै कारण आत्महत्याको प्रयास गरेकी प्रारम्भिक अनुमान गरिएको छ ।

 

‘सुत्केरी हुन दुईतीन बाँकी थियो, लोग्नेसँग विवाद भयो र उनले आफूहरू कोठामै शरीरमा मटिुटतेल छर्केर आगो लगाइन्,’ सञ्चारकर्मी शर्माले भने, ‘पूरै शरीर भाग जलेको छ तर माथिल्लो छालामात्रै डढेकाले ती महिलाको बच्ने सम्भावना भने बाँकी छ ।’

आत्महत्या प्रयास गरेकी युवती महोत्तरीको औरहीको रहेकी जानकारी प्राप्त भएको छ भने उनका पति बारापर्सातिरका भएको आशंका गरिएको छ । 

बुधबार ११ बजेर १५ मिनेटमा आत्महत्या प्रयास गरेकी भनिएकी युवतीका साथमा उनको पति र एकजना अर्का सहयोगी अस्पतालमा छन् । अहिले घाइते युवतीलाई अन्यत्र रेफर गर्ने तयारी भइरहेको अस्पतालका चिकित्सकले जानकारी दिएको सञ्चारकर्मी शर्माले जनाएका छन् ।

 

‘घटनाबारे म जानकार छु र अस्पतालबाट अलिक टाढा छु । प्रहरी र प्रभावितले नाम र ठेगाना गोप्य राखेका छन्,’ उनले भने ।  

 

 

प्रतिक्रिया दिनुहोस्