खाद्य दिवस मनाइयो



काठमाडौं : कृषि विभागको विश्व खाद्य दिवस समितिले विभिन्न कार्यक्रमको आयोजना गरी ३९ औँ विश्व खाद्य दिवस मनाएको छ । ‘हाम्रो पहल स्वास्थ आहार, भोकमुक्त संसार’ भन्ने मूल नारासाथ आज हरिहरभवनदेखि जावलाखेलसम्म प्रभातफेरी गरेको थियो ।

कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाललेस्वस्थ जमीन र स्वस्थ उत्पादनमा मुलुकले ध्यान दिनुपर्नेमा जोड दिए। उनले नेपालमा खाद्यसुरक्षा प्रत्याभूतिका लागि पहिलो चरणमा अन्न खेर फ्याँक्ने प्रवृत्तिमा रोक गर्नुपर्नेमा जोड दिए।

मुलुकले खाद्य सुरक्षाका लागि तयार गरेको एकीकृत मोडलको योजनालाई कार्यान्वयनमा ल्याउँदा धेरै समस्याको समाधान हुने उनको भनाइ थियो । मन्त्री खनालले भने, “नेपालीले बाँझो जमीनलाई उपभोग गरी उत्पादन गरे सुलभ मूल्यमा अन्न उपभोग गर्न पाइन्छ ।”

राज्यमन्त्री रामकुमारी चौधरीले नेपालमा उत्पादन भएका वस्तु राम्ररी भण्डारण र व्यवस्थापन गरी बढीमात्रामा घरायसी खानाको प्रयोग गरे विभिन्न रोगलगायत समस्याको अन्त्य हुने जानकारी दिए।

मन्त्रालयका सचिव युवकध्वज जिसीले हाल नेपालले उत्पादन गरेको तरकारी अरबमा पुग्ने गरेको जानकारी दिए। उनले भने, “सरकारले किसानलाई सिँचाइ, ऋण र जमीनको व्यवस्था गरिदिने हो भने नेपालले धेरैभन्दा धेरै उपभोग्य वस्तु निर्यात गर्न सफल हुने थियो ।”

कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलले सन् २०३० सम्म विश्वलाई भोकमरीबाट मुक्ति गराउने कार्यक्रम अघि बढेको बताए।। नेपालमा जलवायु परिवर्तन लगायतका कारणले खाद्य असुरक्षा बढेको उनको भनाइ थियो । – रासस

प्रतिक्रिया दिनुहोस्