साउदी युवराजसँग पाकिस्तानी प्रधानमन्त्रीको भेटवार्ता



एजेन्सी : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बुधबार साउदी अरबका राजा सल्मान र युवराज मोहम्मद बिन सल्मानसँग भेटवार्ता गरेका छन । उनीहरुबीच अरब खाडी क्षेत्रमा उत्पन्न तनाव न्यूनीकरणका बारेमा छलफल भएको अधिकारीहरुले जानकारी दिएका छन् । खाडी क्षेत्रको भ्रमणका क्रममा साउदी अरब पुग्नु भएका पाकिस्तानी प्रधानमन्त्री खानले दुई देशको आपसी सम्वन्ध, दुई पक्षीय हित र साझा चासोका बारेमा कुराकानी गरेको समाचारमा जनाइएको छ ।

साउदी अरबका युवराज र पाकिस्तानी प्रधानमन्त्री खानबीच गहिरो आत्मीय सम्बन्ध रहेको बताउने गरिएको छ । साउदी अरबको विदेश मन्त्रालयद्वारा जारी वक्तव्यका अनुसार उहाँहरुले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समसामयीक विषयमा छलफल गरेका छन । “प्रधानमन्त्री खान छोटो समयका लागि साउदी अरब आएका हुन, यस अवसरमा उहाँले साउदी राजा र युवराज दुवै जनालाई भेटवार्ता गरेका छन,” मन्त्रालयको आधिकारीक ट्वीटर हेण्डलमा लेखिएको छ ।

छलफलको विषयवस्तुका बारेमा प्रष्ट पार्दै मन्त्रालयले उनीहरुका बीचमा पछिल्लो विकसित क्षेत्रीय तथा अन्तर्राष्ट्रिय घटना क्रमका बारेमा छलफल भएको जनाएको छ । साथै उनीहरुले विकसित घटनाक्रमहरुलाई कसरी सम्बोधन गर्ने र कसरी लिने भन्ने उपायहरुका बारेमा पनि कुराकानी गरेको अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्री खान इरानको दुईदिने भ्रमण सकेर साउदी अरब आएका हुन । खानले यस वर्ष मात्रै योसहित साउदी अरबको भ्रमण तीन पटक गरेका छन ।

यसअघि उहाँले यही वर्षको मे र सेप्टेम्बरमा साउदी अरबको भ्रमण गर्नुभएको थियो भने साउदी अरबको तर्फबाट युवराज मोहम्मद बिन सल्मानले फेव्रुअरीमा पाकिस्तानको राजकीय भ्रमण गरेका थिए । यस पटक भने उनी अरब खाडी क्षेत्रमा तनाव बढीरहेको बेला खाडी क्षेत्रको भ्रमणमा निस्किएका हुन । अमेरिका र साउदी अरबको आग्रहमा खाडी क्षेत्रको तनाव समाधानका लागि पहल गर्न आएका हुन ।

खाडी क्षेत्रको शान्ति र सुरक्षा प्रवद्र्धनका लागि सहयोग गर्न उनको भ्रमण भएको प्रधानमन्त्री खानको कार्यालयले जानकारी दिएको छ । इरान भने उनी यही वर्ष दोस्रो पटक गएका हुन । गत महिना प्रधानमन्त्री खानले खाडी क्षेत्रको तनाव न्यूनीकरणका लागि मध्यस्थता गरिदिन साउदी अरब र अमेरिकाले आफूलाई आग्रह गरेको बताएका थिए। गत जुलाईमा बेलायतको सहयोगमा जिब्राल्टरमा ट्याङ्कर नियन्त्रणमा लिएयता अमेरिका–इरान कूटनीतिक तनावको केन्द्रमा छ । रासस

प्रतिक्रिया दिनुहोस्