तिहारमा २५ लाख माला आवश्यक, १४ करोड बराबरकाे कारोबार हुने



काठमाडौं : नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारमा २५ लाख मालाको व्यवसायिक कारोबार हुने भएको छ । फ्लोरिकल्चर एशोसिएसनले यो वर्ष करिव १३ करोड ५० लाख रकम बराबरको माला खपत हुने जनाएको छ । गत वर्षको कारोबारको आधारमा यो वर्षको कारोबारको अनुमान गरिएको हो । गत वर्ष करिव २२ लाख माला खपत भएको थियो ।

“२५ लाख माला मध्ये १८ लाख सयपत्री फूलका मात्र हुनेछन् भने बाँकी अरु फूलका माला हुनेछन्,” एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले १३ औं गोदावरी मेला बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा भने, “तिहारमा हुने फूलको कारोबारमध्ये माला गोदावरी फूलका हुनेछन् भने २ करोड ५० लाख बराबरको माला बाहिर बाट आयात गर्नुपर्ने हुन्छ ।” तिहारमा फूलको माग एक्कासी बढ्ने भएकाले माग धान्नको लागि आयात गर्नुपर्ने बाध्यता भए पनि अबको तीन वर्षभित्र नेपाली मालाले नै बजार धान्ने उनको भनाइ छ । एशोसिएसनको आयोजनामा आगामी शुक्रबारदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा चार दिने गोदावरी पुष्प मेला आयोजना हुँदैछ । कात्तिक १ देखि मेला ४ गतेसम्म चल्ने मेला संयोजक तथा एशोसिएसनका उपाध्यक्ष शिवबहादुर खडकाले बताए ।

मेला अवधिभर करिव ३५ हजारले अवलोकन गर्ने र करिव ५० लाख बराबरको पुष्प तथा पुष्प जन्य वस्तुको किनबेच हुने अनुमान एशोसिएसनको छ । मेलाका लागि ५० रुपैयाँको प्रवेश शुल्क तोकिएको छ भने विद्यार्थीलाई ३० रुपैयाँ लाग्ने एशोसिएसनका महासचिव विश्वमणी पोखरेलले बताए ।

मेला प्रदर्शनीको आयोजनाबाट प्रत्यक्ष एवं परोक्ष रुपमा पुष्प व्यवसायको विकास, बिस्तार तथा प्रवद्र्धनमा महत्वपूर्ण सघाउ पु(याउने उद्देश्यले “रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरी” नाराका साथ आयोजना हुन लागेको मेलामा गोदावरी फूलको विभिन्न जाती प्रजातीहरु मध्ये यस प्रदर्शनीमा मुख्यतः स्पाईडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स र कट फ्लावर विधालाई प्रतियोगितामा समावेस गरी प्रतिष्पर्धा गराइने छ । प्रतिस्पर्धामा समावेश भएका नर्सरीहरुलाई प्रथम, द्वितीय तथा तृतीय घोषणा गरी शिल्ड, नगद तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने एशोसिएसनले जनाएको छ । नेपालमा फूल खेतीको वार्षिक वृद्धिदर १० देखि १५५ को रहेको अनुमान छ भने हाल मुलुकको मागको ३० प्रतिशत आपूर्ति आयातबाट हुन्छ भने बाँकी स्वदेशमै उत्पादन हुन्छ ।

एशोसिएसनका अनुसार गत आर्थिक वर्षमा २ अर्ब ४२ करोड भन्दा बढीको कारोबार गर्न सफल भएको थियो । जसमध्ये करिव २१ करोड बराबरको आयात भएको तथ्यांक छ । गत वर्षसम्म ७ सय भन्दा बढी पुष्प व्यवसायीहरु पुष्प व्यवसाय गरिरहेको र ४३ जिल्लामा पुष्प खेती बिस्तार भइसकेको जनाइन्छ । नेपालभर करिव १५७ हेक्टर क्षेत्रफलमा पुष्पको व्यवसायीक उत्पादन भइरहेको र ४३ हजार ५ सय भन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेको तथ्यांक छ । कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्