मधेसमा शीतलहरको ‘कहर’



जनकपुरधाम : पुस सुरु भएसँगै तराई मधेसमा शीतलहरको ‘कहर’ सुरु भएको छ। बिहानसाँझ चिसो बढेको त छ नै, तीन दिनदेखि दिउँसो पनि घाम देखिँदैन। शरीर कठ्यांग्रिन थालेको छ । हुनेखानेले जतन गरेर राखेको बाक्लो लुगा पहिरिन थालेका छन्। तर आर्थिक स्थिति कमजोर हुने तराईका मुसहर र डोम जस्ता समुदायका लागि शीतलहर कहर मात्रै नभई काल बनेर आउँछ।

गरिबको सिरकडसना भनेकै पराल। कठियांग्रिदा आगो ताप्न बाल्ने दाउरा पनि उही पराल। प्रदेश २ का धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा अहिले गरिब र दलित बस्तीमा चिसोबाट बच्ने प्रमुख साधन पराल बनेको छ।

शीतलहरले गरिबको दैनिकी प्रभावित गरेको छ। दैनिक काम गरी खाने मजदुर बिहानबेलुका बाहिर निस्कन सकेका छैनन्। शीतलहरको प्रकोप बढ्न थाले पनि स्थानीय सरकारले गरिब तथा विपन्नलाई कसरी जाडोबाट बच्ने भन्ने न सूचना दिएका छन्, न त कुनै राहतका कार्यक्रम नै सार्वजनिक गरेका छन्।

सर्लाहीको चक्रघट्टा गाउँपालिका–७ पटेर्वाका इन्दल माझी भन्छन्, ‘चिसो बढेपछि खानलाउन र बालबालिकालाई जोगाएर राख्ने चिन्ता बढेको छ।’ ५५ घर मुसहर रहेको पटेर्वामा सय जनाभन्दा बढी बालबालिका छन्। चिसो छल्न न्यानो कपडासमेत नहुँदा आफूहरूलाई निकै गाह्रो भएको उनले बताए।

यही बस्तीकी ६० वर्षीया पोषणीदेवी माझीले चिसो बढेपछि आफू जस्ता वृद्धवृद्धाको जीवन कष्टकर बनेको गुनासो गरिन्। ‘घरमा आगो बाल्ने काठदाउरा छैन’, उनले भनिन्, ‘साहुमहाजनकहाँ पराल भुस ल्याउन गयो, दिँदैनन्।’

प्रदेश २ को राजधानी जनकपुरको पनि अवस्था चिन्ताजनक छ। ‘रिक्सा पेल्न बजार ननिस्किए चुलो नबल्ने चिन्ता, निस्किए कठ्यांग्रिदो चिसोले ज्यानै जाने डर,’ जनकपुरधाम–१ का ठेला चलाउने विनोद सदाले भने।

ठेला चलाएर थोरै आम्दानी हुने भएकाले छोराछोरीका लागि बाक्लो लुगा किन्न नसकेको उनले बताए। ‘कपडा नहुँदा घरमा पराल ओछ्याएर रात काट्ने गरेको छु’, उनले भने, ‘हाम्रो पीडा सरकारसमक्ष पुर्‍याइदिनुस्।’

सदा जस्तै पीडा अन्य विपन्न समुदायका मजदुरका छन्। दैनिक मजदुरी गरी जीविकोपार्जन गर्ने मजदुर, किसान र रिक्साचालक जाडोबाट बढी प्रभावित छन्। जाडो र शीतलहरका कारण बालबालिकामा निमोनियाको प्रभाव बढी देखिएको छ। दमका रोगीको संख्या पनि बढेको चिकित्सकको भनाइ छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्