प्रहरी तालिम केन्द्रभित्रै महिला प्रहरी बलात्कृत



नेपालगन्ज : महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन् । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवान पदको तालिम लिइरहेकी महिला प्रशिक्षार्थी तालिम केन्द्रमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बमबहादुर रानाबाट बलात्कृत भएकी हुन् ।

पीडिको उजुरी अनुसार रानाले तीन दिनअघि ब्यारेकभित्रै बलात्कार गरेका थिए । तीन महिनादेखि जवान पदको तालिम लिदै आएकी उनलाई सई रानाले विभिन्न दबाब दिंदै आएर तीन दिनअघि जबरजस्ती बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

यो घटनापछि आक्रोशित परिवारजनले ‘प्रहरी बनेर देशको सेवा गर्न पठाइएकी चेली प्रहरी तालीम केन्द्रभित्रै अफिसरबाट बलात्कृत हुनपुगे देश र जनताको सुरक्षा कसले गर्ने’ भन्दै पीडकलाई हदैसम्मको कारबाहीको माग गरेका छन् । उनीहरुका अनुसार ‘दोषीलाई बचाउन भित्रभित्रै निकै चलखेल गरेपनि आखिरमा पीडितले हिम्मत गरेपछि मात्र’ यो कुरा बाहिर आएको थियो ।

सई रानालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरी हाल हिरासतमा लिइसकेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक (डीआईजी) पूर्णचन्द्र जोशीले उक्त घटनाको तुरन्त अनुसन्धान गर्न निर्देशन दिई अनुसन्धान अघि बढिसकेको बताएका छन् । उनले पीडितको परिवारलाई घटनाको निष्पक्ष रुपमा छानबिन गरिने विश्वास समेत् दिलाएका छन् । प्रहरी तालिम केन्द्रले भने यस विषयमा अझैंसम्म मुख खोलेको छैन ।

हिरासतमा रहेका रानामाथि अनुसन्धानका लागि बाँके जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डीएसपी शिव सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्