मुख्यमन्त्री राउतलाई मेयरको कडा चेतावनी



कलैया : बाराको महागढीमाई नगरपालिका–१ वरियारपुर स्थित प्रसिद्ध गढीमाईको पञ्चवर्षीय मेला आउँदो मंसिरमा लाग्दैछ ।

मेला शुरु हुनुभन्दा अघि मेला व्यवस्थापनको बिषयमा प्रदेश २ सरकार र महागढीमाई नगरपालिका बीच वार शुरु भएको छ । बलिप्रथाले बिश्वमै प्रसिद्ध धार्मिक, ऐतिहासिक, पर्यटकीय महत्वको गढीमाई मेलामा करोडौंको चलखेल गर्न पनि प्रदेश सरकार र स्थाीय सरकारबीच होडवाजी चलेको छ ।

मेला व्यवस्थापनको नाममा उठाईने कर, बिकास निर्माणहुने आर्थिक कारोबारमा आफैले गर्नपाउँनुपर्ने दावी महागढीमाई नगरपालिका कार्यालय र गढीमाई मन्दिर सञ्चालन तथा बिकास समितिको रहेको छ ।

महागढीमाई गरपालिकाको मेयर नेपाली काँग्रेसका नेता उपेन्द्रप्रसाद यादव छन् । गढीमाई मन्दिर सञ्चालन तथा बिकास समितिका अध्यक्ष रामचन्द्र साह छन् । साह राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का नेता हुन् । राजपा र समाजवादी पार्टीको संयुक्त गठबन्धनबाट साह निर्वाचत भएका थिए ।

गत सोमबार गढीमाई सञ्चालन समितिको पाँचौं साधारण सभा सम्पन्न भयो । सधारणसभामा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनल, समाजवादी पार्टीका महासचिव तथा बारा क्षेत्र नं. २ का सांसद (गढीमाई मन्दिर समेत बारा क्षेत्र नं. २ मा पर्छ ) रामसहाय यादव, प्रदेश सांसद सहित स्थानीय नेताहरु सहभागि भएका थिए ।

सधारणसभामा प्रदेश सरकारका मुख्यमन्त्री राउतले गढीमाई मेलाको व्यवस्थापन , रेखदेख गर्ने अधिकार महागढीमाई नगरपालिकालाई नभएको बताए । मेला व्यवस्थापनमा हस्तक्षेप नगर्न सुझाव दिदै मुख्यमन्त्री राउत, मन्त्री सोनल, सांसद यादव सहितका नेताहरुले मेलाको व्यवस्थापन लगायतका काम गर्ने अधिकार सञ्चालन समितिलाई मात्रै भएको अभिव्यक्ति दिए ।

प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री सहित राजपा र समाजवादी पार्टीका नेताले यस्तो अभिव्यक्ति दिएसंगै महागढीमाई नगरपालिकाका मेयर यादव प्रतिवाद गरेका छन् । संविधान, ऐन एवं कानून अनुसार गढीमाई मेलाको व्यवस्थापन एवं रेखदेखको जिम्मेवारी नगपालिका कार्यालयको रहेको जिकिर गर्दै मेयर यादवले मुख्यमन्त्री राउत लगायतलाई आफ्नो पदिय जिम्मेवारी तथा गरिमालाई ध्यानमा राखेर बोल्न सुझाव दिएका छन् ।

गढीमाई मेलाको व्यवस्थापन तथा रेखदेखका लागि नगरपालिका र गढीमाई सञ्चालन समितिले छुटाछुटै समिति गठन गरेका छन् । समानान्तर समिति गठन भएपछि यो बिवाद बल्झिदैगएको देखिएको छ ।

पत्रकार सम्मेलन गर्दै मेयर यादवले मुख्यमन्त्री र प्रदेशमन्त्रीलाई स्थानीय तहको काम, कर्तव्य र अधिकारबारेमा पढेर बोल्न सुझाव दिएका हुन् ।

स्थानीय स्वायत शासन नियवमाली २०७४ मा स्थानीय तहअन्तर्गत रहेको मठ, मन्दिर, धर्म, जात्रा, पर्व र संस्कृतिको संरक्षण तथा नियन्त्रण गर्ने अधिकार स्थानीय तहलाई दिए पनि प्रदेशका मुख्यमन्त्री राउत, मन्त्री सोनल, नेता यादव लगायतका नेताले सार्वजनिक कार्यक्रममा स्थानीय तहले गर्ने कार्यको विरोध गरी पदीय मर्यादा गिराउने काम गरेको आरोप यादवको छ ।

मुख्यमन्त्री र प्रदेशका मन्त्रीहरूले संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारले गर्ने कामका बारेमा अध्यय नै नगरी जथाभावी बोल्दै जनतामा भ्रम सिर्जना हुने अवस्थासमेत रहेको र यसले प्रदेश सरकारको छविलाई नै खराब बनाएको यादवले बताए । पञ्चवर्षिय गढीमाई मेलालाई प्रदेश २ का मुख्यमन्त्री राउत र प्रदेशमन्त्री सोनलले भाँडभैलो गर्न खोजेको र यो कार्यलाई हिन्दु धर्मप्रति आस्था राख्ने श्रद्धालुले सहन नसकिने उनले बताए ।

मुख्यमन्त्रीले कुनै देशी विदेशी शक्तिसँग परिचालन भई गढीमाई मेलालाई विवादित बनाएर मेलालाई समाप्त पार्न खोज्नु भएको र यस कार्यको नगरपालिकाले कानुनी दायरामा रहेर विरोध गर्ने यादवले बताए ।

एनजिओको साधारणसभामा आएर विधानको व्याख्या गर्ने तर एकपटक पनि संविधानबारे आवाज नउठाउनुले संविधानलाई मुख्यमन्त्री स्वीकार नगरेको जस्तो देखिएको आरोप यादवे लगाए ।

‘मुख्यमन्त्रीज्यूलाई थाहा हुनु पर्ने हो कि गढीमाई सञ्चालन तथा विकास समिति ट्रष्ट नभई जिल्ला प्रशासनमा दर्ता भएको एउटा समिति मात्रै हो,’ यादवले भने, ‘समितिलाई मेला लगाउने, कर उठाउने, बाटोघाटोको निर्माण गर्ने जस्तो अधिकार संविधानको कुन धारामा उल्लेख गरिएको छ, मुख्य मन्त्रीले त्यो प्रष्ट पार्नु पर्छ ।’

स्थानीय सरकारलाई काम गर्न नदिने, ऐन नियमको अधिनमा रहेको सिडिओ र एसपीले गढीमाई सञ्चालन तथा विकास समितिलाई सहयोग नगरे कारबाही गर्ने सार्वजनकि कार्यक्रममा बोल्नु पदीय मर्यादाविपरीत भएको यादवको भनाइ छ ।

गढीमाईको मन्दिर रहेको वडा नम्बर १ को वडाध्यक्षको अध्यक्षतामा गढिमाई पञ्चवर्षीय मूल समिति गढिमाई नगरपालिकाले बनाएपछि गढीमाई सञ्चालन तथा विकास समितिका पदाधिकारीले मेला नगरपालिकाले नभएर समितिले लागाउन माग गर्दै आएको र समितिलाई प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले सहयोग गरेका छन् ।

मंसिर १ गतेदेखि एक महिना लाग्ने पन्चवर्षीय गढीमाई मेलामा करोडौं श्रद्धालु आउने अनुमान गरिएको र मेलालाई व्यवस्थित गर्न महागढीमाई नगरपालिका दुई महिना पहिलादेखि नै सक्रिय बनेको छ ।

उता मुख्यमन्त्री राउत लगायतका नेताले प्रहरी प्रशासनलाई गढीमाई सञ्चालन समितिका अध्यक्ष रहेका साह नेतृत्वको टिमलाई सहयोग गरी मेला व्यवस्थित बनाउँनुपर्ने बताएका थिए । सहयोग नगर्ने प्रहरी प्रशासनलाई कारवाही गरिने चेतावनी मुख्मन्त्री राउतले सधारणसभामा दिएका थिए ।

गढीमाई मेला व्यवस्थापन तथा रेखदेखमा छुटाछुटै दुई समिति सक्रिय भएपछि अहिले सर्वसधारण अन्योलमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्