सुरक्षा खतरा रहेको प्रमाण देखाउन हुवावेले दियो चुनौती



बेइजिङ: चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अध्यक्ष केन हुले अमेरिका र विश्वका अन्य देश तथा सरकारहरुलाई आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन चुनौती दिएका छन् । हुवावे टेक्नोलोजी लिमिटेडको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष हुले हुवावेका उत्पादनहरु कुनै ‘विचारधारा र भूराजनीतिक’ धारणाबाट निर्देशित भएको आरोपमा कुनै सत्यता नभएको स्पष्ट पारेका छन् ।

 

उनले अस्ट्रेलिया र अरु बजारमा पाँचौं पुस्ताको दूरसञ्चार सञ्जाल विस्तारमा भइरहेको अवरोधले उपभोक्ता ठगिने दाबी गरे । केन हुले भने, ‘अरुका उत्पादन महङ्गा हुनेछन् र नवीन प्रविधिको परीक्षणमा अरु कम्पनीको काम गराइ ढिलो छ ।’अस्ट्रेलिया र न्यूजील्यान्डले सुरक्षा खतराको कारण दर्शाउँदै पाँचौं पुस्ता (फाइभ–जी) को सञ्जाल विस्तारमा हुवावेमाथि रोक लगाएका छन् । यी दुई मुलुकले अमेरिका र ताइवानसँग पनि सहकार्य गरेका छन् ।

 

चारवटै देशले संगठित रुपमा हुवावेका उत्पादनलाई आफ्ना देशमा भित्रिन नदिन प्रयत्न गरिरहेका छन् । जापानको साइबर सुरक्षा निकायले जापान सरकारले हुवावे समेतका उच्च जोखिमयुक्त संशाधन खरिद नगर्ने बताएको छ । पछिल्ला कदमले हुवावेमाथि खासै असर भने परेको छैन । हुवावे अहिले विश्वकै सबैभन्दा ठूलो दूरसञ्चार नेटवर्क निर्माणकर्ता तथा पाँचौं पुस्ता (फाइभ–जी) को विकासमा अग्रणी कम्पनी हो । तर विश्लेषकहरुका अनुसार हुवावेमाथिको दबाब यथावत रहेमा सन् २०२२ सम्ममा यसको व्यवसायमा २० अर्ब डलरले कमी आउनेछ ।

 

प्रायः अन्तर्वार्ता दिन नचाहने अध्यक्ष केन हुले यसपटक अमेरिकी, युरोपेली र एसियाली पत्रकारहरुसँग झण्डै २ घण्टा २० मिनेट कुराकानी गरेका हुन् । ‘यदि तपाइँसँग कुनै प्रमाण छ भने त्यसलाई सार्वजनिक गर्नु प¥यो,’ हुले भने, ‘सायद हुवावे विरुद्ध होइन र सायद यो आमजनतासँग सम्बन्धित पनि होइन होला । यो कार्य अरु टेलिकम कम्पनीका कारण भइरहेको हुन सक्दछ, किनभने उनीहरु हुवावेका सामग्री खरिद गर्न बाध्य भइरहेका छन् ।’

 

पूर्व चिनीया सैनिक इन्जिनियरले सन् १९८७ मा स्थापना गरेको हुवावेले चिनीया कम्युनिस्ट पार्टीले आफ्नो कम्पनीलाई नियन्त्रण गरेको भन्ने आरोपमा सत्यता नरहेको दाबी गरेको छ । अथवा यसले गोप्य उपकरण चिनीया सरकारका लागि डिजाइन पनि गरेको छैन ।

 

खासगरी पाँचौं पुस्ताको उपकरण विकास गरेपछि हुवावेमाथि आक्रमण शुरु भएको हो । यो प्रविधिले स्वचालित कार, मेडिकल उपकरण तथा विद्युतीय प्लान्ट समेतका स्थानमा टेलिकम प्रदायक कम्पनीहरुलाई मद्दत गर्दछ जसको अथाह आर्थिक सम्भावना छ । पाँचौं पुस्ताको प्रविधि विकासले टेलिकम नेटवर्कलाई मुलुकको रणनीतिक राष्ट्रिय पूँजीका रुपमा लिन थालिएको छ ।

 

‘हाम्रा उपकरणले कुनै पनि किसिमको सुरक्षा खतरा निम्त्याएको कहिँ पाइएको छैन,’ हुले भने, ‘हामीलाई कुनै पनि देशले आफ्ना नेटवर्क नष्ट गर्न अनुरोध पनि प्राप्त भएको छैन ।’ हुवावे चीनको पहिलो विश्वव्यापी प्रभाव राख्ने प्रविधि क्षेत्रको कम्पनी हो । यो कम्पनीमा हाल एक लाख ८० हजारले रोजगारी पाएका छन् भने यस वर्ष कम्पनीको बिक्री १०० अर्ब डलर पुगेको छ । राजधानीबाट

प्रतिक्रिया दिनुहोस्