नाम जनता आवास, काम उठिबास



जनकपुरधाम : ‘दशा बितरह हबें, घरदुवार बेगर (दशा भइरहेको छ, घर नभएर),’ शीतलहरमा लगलग काँप्दै गरेका ६५ वर्षीय जुलमा मुसहरले भने, ‘जाड बइढगेलै मुंदा जाडमे लगाबबला कपडा नैहबै (जाडो बढ्यो तर लगाउने कपडा छैन।)’

तीन दिनदेखि चलेको शीतलहरले सताएको दुःख सुनाउँदै महोत्तरी भंगाहा नगरपालिका-३ का उनले थपे, ‘जाडसँ रातमे निन्द नैलगैय। आइग ताइपक बिहान करैछी (जाडोले राति निद्रा लाग्दैन। आगो तापेर रात कटाउँछु।)’

पराले झुपडीमा उनले पुस्तौं बिताएका छन्। सरकारले दुई वर्षअघि जनता आवास कार्यक्रमअन्तर्गत पक्की घर बनाउने योजना ल्यायो। त्यसको सूचीमा गरिब मुसहर जुलमाको पनि नाउँ प¥यो।

उनी निकै खुशी भए। छाप्रो हटाएर पक्की महल बनाउने सपना देखे। सम्पत्तिको नाउँमा रहेको एक मात्र झुप्रो पनि हटाए। तर, उनलाई के थाहा पक्की घरमा पनि झमेला लाग्छ भनेर ?

करिब डेढ वर्ष बित्यो, अहिलेसम्म उनको घर बन्न सकेको छैन। डन्डीमा खिया लागिसक्यो। डीपीसीभन्दा माथि ठडिन सकेको छैन। ‘दुई वर्षको बर्खा र जाडो त्रिपालमै सुतेर बितायौं तर पक्का घर कच्चा नै छ। यो वर्षको जाडोमा बाँच्न सक्दिनँ जस्तो लागेको छ,’ दमका रोगी उनी आफ्ना दुःख अन्नपूर्णसँग बिसाउँदै रुन थाले।

बिहानको शीतलहरमा उनको त्रिपालछेउ पुगेको थियो, यो संवाददाता। हुस्सुले बेलाबेला उनको वेदनापूर्ण आँखाबाट बगेका बलिन्द्रधारा आँसु छेकिदिन्थ्यो। बेलाबेला त्यही हुस्सुले क्यामराको लेन्सलाई धुमिल बनाइदिन्थ्यो, जसरी सरकारको जनता आवास कार्यक्रमले जुलमा मुसहरको जिन्दगी नै अस्तव्यस्त बनाइदिएको छ।

नाम त छ जनता आवास, काम चाहिँ गरिबको उठिबास ! योजना लागू भएको दुई वर्षमा उपभोक्ताहरूले चाखेको अमिलो स्वाद हो यो।

कर्मचारीको चरम लापरवाही र सहरी विकास तथा भवन निर्माण कार्यालयको ढिलासुस्तीले प्रदेश नम्बर २ का महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा गरी आठ जिल्लाका हजारौं मुसहर र डोमहरूको उठिबास भएको उपभोक्ताहरू बताउँछन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्