टेलिकमद्वारा अटम अफर



काठमाडौं : नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर उपलब्ध गराउने भएको छ । टेलिकमले आज प्रेस विज्ञप्ति जारी गरी उक्त अफरअन्तर्गतको सेवा आजदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको जनाएको छ ।

यसअघि उपलब्ध समर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको छ । पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन गरी अझै ग्राहकमैत्री बनाइएको छ ।

डे डाटा प्याकअन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ । डे भ्वाइस प्याकअन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ ।

एफटीटीएच कम्बो प्याक अन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ । पहिलेको १ हजार २ सयको प्याकलाई १ हजार, ३ हजार ४ सयको प्याकलाई ३ हजार, ६ हजार ४ सयको प्याकलाई ५ हजार ५ सय र १२ हजार ३ सयको प्याकलाई अब १० हजार ५ सय रुपैयाँ मात्र पर्ने भएको छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नुपर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरीद गर्न सकिन्छ । रासस

प्रतिक्रिया दिनुहोस्