पाकेट मारेको पैसाले विदेशीसँग मस्ती



काठमाडौं : राजधानी उपत्यकामा शृंखलाबद्ध पाकेटमारी र चोरीमा संलग्न ७१ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर टेकुले मंसिर १५ बाट यातायात व्यवसायीसँगको समन्वयमा गरेको अपरेसनमा यति धेरै पाकेटमार समातिएका हुन्।

 

काठमाडौँमा सञ्चालित सार्वजानिक सवारीसाधनमा पाकेटमारी तथा चोरीका घटना बढेको गुनासो आएपछि प्रहरीले अपरेसन थालेको हो। यसका लागि सादा पोसाकका ५० जना प्रहरीलाई सार्वजनिक यातायातमा यात्रुका रूपमा परिचालन गरिएको परिसरका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए।

 

अपरेसनका क्रममा बस र माइक्रो बसका यात्रुको पाकेट र झोलामा रहेका नगद, मोबाइल, गरगहना चोर्दाचोर्दै ७७ जना पक्राउ परेका परिसरकार प्रवक्ता डीएसपी होबीन्द्र बोगटीले जानकारी दिए। पक्राउ परेकामध्ये केहीमाथि प्रहरीले गरेको अनुसन्धानबाट रोचक तथ्य फेला परेको छ। परिसरको हिरासतमा रहेका ७७ पाकेटमारमध्ये एक जनाले चोरेको पैसा यौनप्यास मेटाउन खर्च गरेको अनुसन्धानबाट खुलेको छ।

 

‘अहिले पक्राउ परेकामध्ये एक जना पाकेटमारको उठबस विदेशी महिलासँग देखियो। राजधानीका राम्रा होटलमै पुगेर उनले यौनप्यास मेटाउन चोरीको पैसा खर्च गर्ने गरेको भेटियो’, परिसर प्रमुख लामाले भने, ‘पाकेट मारेको पैसा राजधानीकै नाम चलेका होटलमा रातिको समयमा गएर विदेशी र उच्च जीवनशैली भएका महिलासँग मस्ती गर्ने गरेको हाम्रो अनुसन्धानबाट खुलेको छ।’

 

यद्यपि लामाले पक्राउ परेकामाथि अनुसन्धान जारी रहेकाले आरोपितको नाम खुलाउन नसकिने बताए। बाध्यता मात्रै नभई सोख पूरा गर्न पढेलेखेकै युवा पनि पाकेटमारीमा लागेको उनको भनाइ छ। केही पाकेटमार सार्वजनिक बस र माइक्रो बसका यात्रुको पैसा, सुनका गहना र बहुमूल्य सामान चोरेपछि मोजमस्तीका लागि डिस्को र पब चहार्ने गरेको पनि भेटिएको छ। ‘पक्राउ परेका केही महिलाको लवाइखवाइ मोडलको भन्दा कम देखिँदैन। तर आपराधिक धन्दामा लागेका छन्’, लामाले भने।

 

१८ पटकसम्म पक्राउ

एउटा सार्वजनिक बसबाट पक्राउ परेका युवा यसअघि चोरीकै घटनामा १७ पटकसम्म पक्राउ परेको खुलेको छ। पटके चोरीमा पक्राउ पर्दै छुट्दै गरेका ती युवा १८औं पटक पनि पुलिसको फन्दामा परेका छन्। ‘चोरी तथा पाकेटमारीमा सजाय एकदमै कम भएकाले पक्राउ परेकाहरू फेरि पुरानै धन्दामा लागेको देखियो’, उनले भने।

 

यसरी गर्थे चोरी

प्रहरीका अनुसार पाकेटमारले २/२ जनाका दरले ६ जनासम्मको समूह बनाई बस र माइक्रो बसभित्र छिरेर पैसा भएका यात्रुको पहिचान गरी चोर्ने गरेका थिए। ‘हाम्रो प्रहरी टोलीको अपरेसनका क्रममा पाकेटमारको समूहले पैसा भएको यात्रुलाई बसमै अगाडिपछाडिबाट घेराबन्दीमा पारी ठेलाठेलको अवस्था बनाई चोर्ने गरेको पाइयो’, एसएसपी लामाले भने, ‘यी पाकेटमार यात्रुबाट मोबाइल, नगद र सुनचाँदीसमेत चोरेर पालैपालो बसबाट ओर्लेर गायब हुने गरेको हाम्रो अनुसन्धानले देखाएको छ।

 

भाषा आफ्नै

राजधानीमा गुड्ने सवारीसाधनबाट लुट्ने पाकेटमारले व्यवस्थित रूपमा कोडभाषा प्रयोग गर्ने गरेको डीएसपी बोगटीले बताए। पाकेटमारले पैसालाई ‘द’ कोडभाषा प्रयोग गर्थे भने मोबाइललाई ‘कान’ भन्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसैगरी जसको पाकेट रित्याइन्छ, उसलाई ‘रामे’ भन्ने गरेका थिए।

 

त्यसैगरी पकेटमारी गर्नेलाई ‘मास्टर’ र ‘कासी’ भनेर सम्बोधन गरिन्थ्यो। पैसा धेरै छ भन्नुपर्दा कोडभाषामा ‘टानको द’ र पैसा थोरै छ भन्नुपर्दा ‘जुटको द’ भन्ने गरेको खुलेको छ। त्यसैगरी यो समूहले गाडीलाई कोडभाषामा ‘काँचा’ भन्ने गरेको प्रहरी अनुसन्धानबाट पत्ता लगेको छ। त्यसैगरी केटालाई कोडभाषामा ‘छापा’ भन्ने गरेको खुलेको छ। केटीलाई ‘भद्री’ र पुलिस आयोलाई उनीहरूले ‘ठुल्दाइ’ आयो भन्ने गरेका थिए। ड्राभइरलाई ‘माम’ भन्ने उनीहरूले खलासीलाई ‘मले’ भनेर कोडभाषामा चिनाउँथे।

 

यो समूहले पाकेट रित्याएपछि भाग्ने क्रममा पनि कोडभाषा नै प्रयोग गर्थे। उनीहरूले गाडीबाट झरेर भागलाई ‘टप्की’, गाडीभित्र अगाडि सरलाई ‘अकल जाई’ र गाडीभित्र पछाडि सरलाई कोडभाषामा ‘चिछल जा’ भन्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्