जग्गाधनीलाई थाहै नदिई अर्कैका नाममा जग्गा पास



काठमाडौं : सरकारी कर्मचारीबाटै सर्वसाधारणको सम्पत्ति असुरक्षित हुन थालेको छ । आपराधिक गिरोहसँग मिलेर कर्मचारीले धनीलाई थाहै नदिई जग्गा तथा कम्पनी बिक्री गरिदिन थालेका घटना बढ्न थालेका छन् । 

यस्ता दुई समूहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीले समेत यस्ता घटनाहरूको अनुसन्धान गरिरहेको छ । 

झापाकी टेकमाया माओहाङको दमक– २ स्थित २ बिघा चार धुर जग्गा उनलाई नै थाहा नदिई बिक्री गरेको घटनामा मालपोतका ८ कर्मचारीलाई अख्तियारले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । मालपोत कार्यालय डिल्लीबजार र झापाका कर्मचारी मिलेर टेकमायाको जग्गा बिक्री गरिदिएको खुलेको छ । 

६ वर्षअघि नै डिल्लीबजार मालपोत कार्यालयबाट बेजिल्ला पासको निर्णय गराएर नक्कली धनी खडा गरी जग्गा बिक्री भएको हो । एक व्यक्तिले कर्मचारीलाई आर्थिक प्रभावमा पारी जग्गा बिक्री गरिदिएको पुष्टि भएको छ । 

मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख पर्शुराम अधिकारीसहितका कर्मचारीलाई अख्तियारले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । गिरोहका मुख्य नाइके भने फरार छन् । झापा मालपोतका अधिकृत अग्नि घिमिरे तथा नायब सुब्बाद्वय डिल्ली कोइराला र जयन्द्रा राईलगायत अख्तियारको हिरासतमै छन् । 

जग्गामा संरचना निर्माण हुन थालेपछि मात्रै आफ्नो जग्गा अरूकै नाममा पुगिसकेको टेकमायाले थाहा पाएकी थिइन् । मालपोत कर्मचारीबाटै आफ्नो जग्गा बिक्री भएको उनी बताउँछिन् । आजको नयाँ पत्रिका दैनिमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्