कांग्रेस-फोरम समायोजन अस्थिर, अझै आएन गच्छदारका ११ जनाको नाम



काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले गत निर्वाचनमा कांग्रेसमा समाहित भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रीय सदस्य हुने ११ जनाको नाम अझै उपलब्ध गराएका छैनन् ।

आफ्नो पार्टीलाई कांग्रेसमा समाहित गराएपछि फोरमका तत्कालीन अध्यक्ष गच्छदार कांग्रेस उपसभापति एवं संसदीय दलको उपनेता बनिसकेका छन् । यही असोज १० गते बसेको कांग्रेस केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा ११ जनासहित अन्य सांगठनिक संरचनामा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट समायोजन हुने संख्या, पद र अन्य कार्यविधि पारित गरेको थियो।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने– ‘गच्छदारबाट ती नाम आएपछि हामी सार्वजनिक गर्नेर्छौं।’कांग्रेस उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समितिले तय गरेको संख्या, पद र विधिमा गत वर्ष महासमितिको बैठकमा सहभागी तत्कालीन फोरमका १ सय ४८ जना पर्यवेक्षकसहित २ सय जना महासमिति सदस्य हुने उल्लेख छ।

उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य महेश आचार्य र केन्द्रीय सदस्य दीपक गिरी सदस्य रहेको समायोजन समितिले महासमिति सदस्य २ सयसहित ६ सय जनालाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय भएको थियो।

यसअनुसार मोरङमा १ उपसभापति, १ सहसचिव, १५ सदस्य, सुनसरीमा १ उपसभापति, १ सहसचिव र ११ सदस्य, कैलालीमा १ उपसभापति, १ सहसचिव र ११ सदस्य, बर्दियामा १ उपसभापति, १ सहसचिव र ५ सदस्य, सप्तरीमा १ उपसभापति, १ सहसचिव र ५ सदस्य, सर्लाही, दाङ, पर्सा र काभ्रेमा १/१ उपसभापति र ७/७ सदस्य, झापा र रूपन्देहीमा १/१ उपसभापति र ५र५ सदस्य तत्कालीन फोरममा समायोजित हुनेछन्।

यस्तै बारा र बाँकेमा १–१ उपसभापति र ३–३ सदस्य, ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कञ्चनपुरमा १–१ सहसचिव र ३–३ सदस्य, उदयपुर र महोत्तरीमा सहसचिव १–१ र सदस्य २–२ जना फोरममा समायोजित हुनेछन्। काठमाडौं र नवलपरासीमा समायोजन हुनेको संख्या र पद भने तोकिएको छैन।

केन्द्रीय, प्रदेश, जिल्ला, प्रदेश सभा, प्रतिनिधिसभा, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका, गाउँ, नगर–वडा, भ्रातृ संघ र शुभेच्छुक संस्थाको कार्यसमितिमा अझै पनि समायोजन हुन सकेको छैन। प्रवक्ता शर्माका अनुसार जिल्लामा समायोजन प्रक्रिया टुंगिन बाँकी छ। सोही कार्यका लागि उपसभापति गच्छदार बुधबार सुनसरीमा थिए । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्