ओली र नेपाललाई आत्मालोचना गर्न दबाब



काठमाडौं: विवादास्पद ‘एसिया प्यासिफिक सम्मेलन’ मा शीर्षनेताहरू प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री माधव नेपाललगायतको संलग्नताले पार्टी बदनाम भएको भन्दै नेकपा स्थायी कमिटी सदस्यहरूले आत्मालोचना गर्न दबाब दिएका छन् ।

 

यही कारण आगामी चुनावमा जनताले हिसाबकिताब उतार्न सक्ने भन्दै उनीहरूले जारी स्थायी कमिटी बैठकमा ‘आइन्दा यस्तो गल्ती नगर्न’ चेतावनीसमेत दिए । गत महिना राजधानीमा भएको सम्मेलनमा प्रधानमन्त्री ओली तीन दिन होटलमै गएर बसेका थिए ।

 

पूर्वप्रधानमन्त्री नेपाल सम्मेलनको मुख्य हर्ताकर्ता थिए । ‘यो सम्मेलनमा सरकार र नेताहरू संलग्न हुने कुरा गलत भयो, यसमा आत्मालोचना गर्नुपर्छ,’ बुधबारको बैठकमा नेता सुरेन्द्र पाण्डेले भने, ‘पहिले चोखिन सुनपानी छर्किने गरिन्थ्यो, त्यस्तै अहिले हामी यसबाट चोखिनुपर्छ, जो–जो संलग्न भएका छौं, ती सबैले आत्मालोचना गरौं । नभए जनताले यसको हिसाबकिताब राख्छन् ।’

 

स्थायी कमिटी सदस्य रघुजी पन्तले पनि पिस फेडेरेसनको कार्यक्रममा संलग्नता आपत्तिजनक भएको बताए । प्रधानमन्त्री धर्मका नाममा गलत गतिविधि गर्ने एक व्यक्तिबाट अभिनन्दित हुँदा नेपाली जनताको सांस्कृतिक र धार्मिक आस्थाप्रति चोट पुगेको उनको भनाइ थियो ।

 

अर्का सदस्य भीम आचार्यले सरकार र कम्युनिस्ट पार्टीका नेताहरूले विवादास्पद संस्थालाई बोकेर हिँड्नु गलत भएको बताए । ‘यस्तो कार्यक्रम बरु नेपाल सरकारले नै गर्न सक्थ्यो, गलत संस्था बोकेर वा त्यसको पछि लागेर सरकार जोडिनु ठीक भएन,’ उनले भने, ‘सोचविचार नगरी काम गर्दा सरकार नै फस्दै गइरहेको छ ।’

 

बैठकमा नेता भीम रावलले एसिया प्यासिफिक सम्मेलन र युनिभर्सल पिस फेडेरेसनका विषयमा तीन पृष्ठ लामो लिखित धारणा राखेका थिए । उनले उक्त संस्थाका विवादास्पद गतिविधिको फेहरिस्त नै प्रस्तुत गर्दै सरकारबाट गलत काम भएको औंल्याए ।

 

सम्मेलनमा प्रधानमन्त्री र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारलाई निमन्त्रणा वितरण गराएको, उपप्रधानमन्त्रीलाई पाहुना स्वागत गर्न लगाएकोजस्ता विषयमाथि रावलले प्रश्न उठाएका थिए । यसअघिका बैठकमा बोल्ने नेताहरूले पनि सम्मेलनको विषयमा आपत्ति जनाएका थिए ।

 

भारतसँग सम्बन्धको चर्चा

बैठकमा नेताहरूले भारतसँगको सम्बन्ध, सरकारका नियुक्ति, पार्टीको विधान, नेतृत्वलगायत विषयमा पनि निकै प्रश्न उठाए । अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले स्थायी कमिटीमा पेस गरेको प्रतिवेदनमा विदेशीसँग सम्बन्ध सुधारेको दाबी गरेका छन् । तर नेताहरू सुरेन्द्र पाण्डे र रघुजी पन्तले यो गलत रहेको तर्क गरेका गरेका कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्