हिमालय वारपार सञ्जालका कार्यक्रममा नेपालको पूर्ण प्रतिबद्धता : मन्त्री महासेठ



तिब्बत : चीनले अगाडि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)अन्तर्गतको अन्तर्राष्ट्रिय सहयोगका लागि हिमालय वारपार सञ्जालअन्तर्गतका कार्यक्रमहरु कार्यान्वयनमा नेपालले पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ ।

चीनको तिब्बतको लिन्ची सहरको पर्यटकीय स्थल लुलाङमा सोमबारदेखि सुरु भएको ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो चीन तिब्बत लुलाङ हिमालय वारपार मञ्च’को बौद्धिक सम्मेलनलाई नेपालको तर्फबाट सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले नेपाल सरकारको तर्फबाट उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री महासेठले चीनले अगाडि सारेको बीआरआईको अवधारणासँग मेल खाने किसिमका आन्तरिक परियोजना पनि क्रमशः अगाडि बढाइरहेको जानकारी दिँदै हिमालय वारपार सञ्जालका कार्यक्रममा थप सहयोगको प्रतिबद्धता व्यक्त गरेका हुन् । चीनले अगाडि सारेको बीआरआईसम्बन्धी अवधारणामा नेपालले सन् २०१७ मे १२ मा हस्ताक्षर गरेको थियो ।

चीनका राष्ट्रपति सी चिनफिङले पहिलोपटक काजकस्थानस्थित नजरबावेभ युनिभर्सिटीमा सम्बोधन गर्दै सन् २०१३ को सेप्टेम्बर ७ मा बीआरआईको घोषणा गरेका थिए । यो अवधारणा अन्तर्गत विश्वलाई एक क्षेत्र एक सडकको माध्यमबाट जोड्ने लक्ष्य रहेको छ । सोहीअन्तर्गत नीतिगत समन्वय, रेलवे र हाइवेसहितको संरचना, खुला व्यापार, आर्थिक समन्वय र जनजनको सामीप्यजस्ता विषयलाई मुख्य आधारको रुपमा लिइएको छ ।

नेपाल सरकारले बीआरआईलाई सफल पार्नका लागि आन्तरिक गृहकार्य पनि तीव्र बनाएको भन्दै मन्त्री महासेठले हिमालय क्षेत्रसँग जोडिएका नाकाहरु ओलांगचुङगोला, किमाथांका, तातोपानी, रसुवागढी, हिल्सा, कोरलालगायतका नाकासम्म पुग्ने सडक निर्माणलाई तीव्रता दिएको सम्बोधनको क्रममा महासेठले बताए ।

त्यस्तै, नेपाल–चीन विद्युत् प्रसारणलाइनलाई हिमालय क्षेत्रबाट पार गराउने विषयमा पनि सरकारले काम थालिसकेको भन्दै समग्र दक्षिण एसियाको मात्र नभई मध्यएसिया र युरोपसम्मको भौतिक संरचनाहरुमा जोडेर सांस्कृतिक, बौद्धिक तथा पर्यटकीय केन्द्रको विकास गर्न वर्तमान केपी ओली नेतृत्वको सरकारले काम गरिरहेको मन्त्री महासेठको भनाइ छ । हिमालय क्षेत्रलाई एउटा सीमा रेखाजस्तो ठान्ने विगतको प्रवृत्तिलाई चीनले अगाडि सारेको बीआरआईले हटाउने काम गरेको पनि मन्त्री महासेठको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्