मन्त्रीहरु लामिछानेतिर छ माया छपक्कै भएपछि …



काठमाडौं : नेकपाका नेता तथा मन्त्रीहरु आत्महत्या दुरुत्साहनका आरोपी रवि लामिछानेसँगै ‘छ माया छपक्कै’को विशेष शोमा एउटै रोहमा सँगैसँगै देखापरेपछि चलचित्रसँगै उनीहरुको उपस्थितिको चर्चा पनि एकाएक उकालो लाग्न सुरु गरेको छ ।

त्यतिमात्र होईन फिल्म हेरिसकेपछि गाईजात्रे शैलीमा नेता र मन्त्रीहरुले पत्रकार सम्मेलनमा नै जस्तो गरी बोलेको र बीचमा आत्महत्याको दुरुत्साहनमा आरोपित रवि लामिछानेसँग लाजै नमानी सार्वजनिक ढंगले भलाकुसारी गरेको मात्र होईन उनलाई राजीनीतिमा आएर प्रधानमन्त्री बन्न समेत आग्रह गर्न भ्याए । यो दृश्यले सामाजिक सञ्जालमा बजार पाएको छ । एकातिर चलचित्र क्षेत्रलाई माया गर्ने र हौसला दिने गरी हेर्न पुगेका नेता तथा मन्त्रीहरुलाई कतिपयले हाम्रा नेता तथा मन्त्रीहरु कति फुर्सदिला भनेर व्यंग्य गरेका छन् । त्यस्तै रवि लामिछाने प्रकरणसँग जोडेर पनि स्ट्याटस लेखेका छन् ।

दीपक–दिपाको टिमले निर्माण गरेको चलचित्र ‘छ माया छपक्कै’ले बम्पर ओपनिङ्ग गरेसंगै जय नेपाल हलमा विहीवार विशेष शोमा उनीहरु एकसाथ देखा परेका हुन् । उक्त शोमा सेलिब्रिटीदेखि मन्त्रीहरुसम्म चलचित्र अवलोकन गर्न पुगेकाले शोको माहोल निकै रोचक बनेको थियो ।

चलचित्र शोमा नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, मन्त्रीहरु वर्षमान पुन, लालबाबु पण्डित, योगेश भट्टराई तथा पत्रकार रवि लामिछानको दम्पति साथै रहेका थिए । चलचित्र शोको अवधिभर अभिनेता भुवन केसीदेखि अभिनेतृ करिश्मा मानन्धर शोको मुख्य आकर्षणका केन्द्रमा थिए ।

शुक्रबारदेखि रिलिज भैरहेको चलचित्र ‘छ माया छपक्कै’ले बक्स अफिसमा धुम मच्चाइरहेको छ । चलचित्र हेर्ने दर्शकको संख्यामा कुनै कमी आएको छैन, त्यसै कारण पनि यो चलचित्रले एक सातामै बक्स अफिसमा लोभलाग्दो तथ्यांक हासिल गर्नेमा कुनै आशंका छैन ।

सफलताको यो उचाइले अबका दिनमा दीपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे, जितु नेपालहरुले अब कुन चलचित्रमा काम गर्लान् भन्ने कौतुहलता चलचित्र बजार र दर्शकहरुको मनमा उब्जाउन थालेको छ । फरक नाम र बिना बिदा पनि चलचित्र चलाउन सक्ने अचम्मको खुबी यो टिमसँग रहेको ‘छ माया छपक्कै’ले यसरी पुष्टि गरिदिएको छ ।

धुम मच्चाइरहेको चलचित्र ‘छ माया छपक्कै’ रोहित अधिकारीको एकल लगानीमा निर्माण भएको हो । चलचित्रबाट आर्जित हुने नाफाको ५० प्रतिशत, डिजिटल राइट्स र विदेश कमाइको आधा प्रतिशत बाँडीचुँडी गर्ने सहमतीमा यो टिमले चलचित्र निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्