प्रदेश ३ सभा बैठक अझै अनिश्चित



काठमाडौं : झन्डै एक महिनाअघि स्थगित भएको प्रदेश ३ सभा बैठक अझै अनिश्चित बनेको छ । ४९ दिनपछि १० र ११ मंसिरमा बसेको बैठकले पाँचवटा विधेयक पारित गरेको थियो । त्यसपछि स्थगित भएको बैठक कहिले हुनेबारे हालसम्म टुंगो लागेको छैन ।

संघीय संसद्मा हिउँदे अधिवेशन आह्वान भए पनि प्रदेश ३ ले वर्षे अधिवेशन नै टुंगो लगाउन नसकेको सभामुख सानुकुमार श्रेष्ठले स्वीकारेका छन् । मंसिरमै सुरु हुनुपर्ने हिउँदे अधिवेशन राजधानीको विषयका कारण ढिलाइ भएको सभामुख श्रेष्ठले बताए । 

‘मंसिरमा राजधानीको विषय टुंगिएको भए पुसबाट हिउँदे अधिवेशन सुरु गर्ने अवस्था बन्थ्यो,’ उनले भने, ‘राजधानीकै विषय टुंगोमा नपुग्दा हिउँदे अधिवेशन सुरु गर्न करिब एक महिना ढिलाइ भइसकेको छ ।’ वर्षे अधिवेशनमै राजधानीको विषय टुंग्याउने र हिउँदे अधिवेशन सुरु गर्नेबारे छलफल भएको श्रेष्ठले बताए । 

प्रदेश संसदीय दलका नेताहरूले १७ मंसिरमा राजधानीको विषय छिट्टै टुंग्याउने सहमति गरे पनि अझै अन्योलै छ । राजधानीको विषय प्रक्रियामा समेत गएको छैन । 

आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको विषय टुंगो लगाउनेबारे मिति तय नभएको बताए । उनले प्रक्रियामै अघि बढ्ने सहमति भए पनि मिति अनिश्चित भएको जनाए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्