प्रदेश ३ सभा बैठक अझै अनिश्चित



हेटौँडा: झन्डै एक महिनाअघि स्थगित भएको प्रदेश ३ सभा बैठक अझै अनिश्चित बनेको छ । ४९ दिनपछि १० र ११ मंसिरमा बसेको बैठकले पाँचवटा विधेयक पारित गरेको थियो । त्यसपछि स्थगित भएको बैठक कहिले हुनेबारे हालसम्म टुंगो लागेको छैन ।

 

संघीय संसद्मा हिउँदे अधिवेशन आह्वान भए पनि प्रदेश ३ ले वर्षे अधिवेशन नै टुंगो लगाउन नसकेको सभामुख सानुकुमार श्रेष्ठले स्वीकारेका छन् । मंसिरमै सुरु हुनुपर्ने हिउँदे अधिवेशन राजधानीको विषयका कारण ढिलाइ भएको सभामुख श्रेष्ठले बताए । ‘मंसिरमा राजधानीको विषय टुंगिएको भए पुसबाट हिउँदे अधिवेशन सुरु गर्ने अवस्था बन्थ्यो,’ उनले भने, ‘राजधानीकै विषय टुंगोमा नपुग्दा हिउँदे अधिवेशन सुरु गर्न करिब एक महिना ढिलाइ भइसकेको छ ।’ वर्षे अधिवेशनमै राजधानीको विषय टुंग्याउने र हिउँदे अधिवेशन सुरु गर्नेबारे छलफल भएको श्रेष्ठले बताए ।

 

अन्योलमै राजधानीको विषय   

प्रदेश संसदीय दलका नेताहरूले १७ मंसिरमा राजधानीको विषय छिट्टै टुंग्याउने सहमति गरे पनि अझै अन्योलै छ । राजधानीको विषय प्रक्रियामा समेत गएको छैन । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले राजधानीको विषय टुंगो लगाउनेबारे मिति तय नभएको बताए । उनले प्रक्रियामै अघि बढ्ने सहमति भए पनि मिति अनिश्चित भएको जनाए ।

 

पारित विधेयक प्रमाणीकरण भएन

११ मंसिरमा प्रदेश सभा बैठकबाट ५ वटा विधेयक पारित भए पनि हालसम्म प्रमाणीकरण भएको छैन । प्रदेश सभा सचिवालयबाट विधेयकमा उल्लेख भएका शब्दको शुद्धाशुद्धि र सभामुखको हस्ताक्षरपछि मात्र प्रदेश प्रमुखको कार्यालयमा पेस हुने भएकोले समय लागेको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकबाट प्रदेश कार्य सञ्चालन कोषको व्यवस्था गर्न बनेको विधेयक, प्रदेश खेलकुद विकास गर्ने सम्बन्धमा बनेको विधेयक, प्रदेश प्राविधिक शिक्षा परिषद् स्थापना र सञ्चालन गर्न बनेको विधेयक, प्रदेश संस्था दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापनसम्बन्धी विधेयक पारित भएको थियो ।

 

तिहारअघि नै सुरु हुनुपर्ने थियो हिउँदे अधिवेशन

३१ जेठमा सुरु भएको वर्षे अधिवेशनमा ५८ वटा बैठक बसेको छ । प्रदेश ३ सभा गठनपछि प्रथम अधिवेशनमा १९ र वर्षे अधिवेशनमा ५८ गरी हालसम्म जम्मा ७७ वटा बैठक भइसकेको प्रदेश सभा सचिवालय शाखा अधिकृत सुनिता गजुरेलले जानकारी दिइन् । उनका अनुसार तिहारपछि सुरु हुनुपर्ने हिउ“दे अधिवेशनका लागि हालसम्म कुनै जानकारी नआएको नयाँ पत्रिकामा खवर छ ।

प्रतिक्रिया दिनुहोस्