नेपाल-म्यानमार सिधा हवाइउडान चाहन्छन् नेपाली मूलका बर्मेली नागरिक



काठमाडौं : नेपाली मूलका बर्मेली नागरिकहरुले नेपाल–म्यानमारबीच सिधा हवाइउडान कायम गरिएको देख्न चाहेको बताएका छन् । म्यान्मारको राजकीय भ्रमणमा रहेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनीहरुले यस्तो चाहना व्यक्त गरेका हुन् ।

शुक्रवार म्यान्मारको पे–उ–लिन नगरमा नेपालीभाषी बर्मेली नागरिकसँग भेटघाटका लागि आयोजना गरिएको एक कार्यक्रममा राष्ट्रपति भण्डारीसँग म्यान्मारस्थित नेपालीभाषी बर्मेलीद्वारा उक्त कुरा व्यक्त गरिएको हो ।

म्यानमारस्थित नेपाली नागरिकहरुले म्यान्मारबाट नेपाल जानेहरूका लागि निःशुल्क प्रवेशाज्ञाको व्यवस्था गरिदिन पनि माग गरेका छन् । उनीहरुको मागप्रति राष्ट्रपतिले भण्डारीले सकारात्मक जवाफ दिंदै त्यसका लागि पहल गर्ने विश्वास दिलाएकी छन् ।

नेपाल भ्रमण वर्षको अवसर पारेर यी दुई देशबीचमा सिधा हवाइउडान कायम गर्न सकिएमा उनीहरुको आकांक्षा पूरा हुनसक्ने उनीहरुको जोड रहेको छ । म्यानमारस्थित नेपालीभाषीले नेपाल भ्रमण वर्ष सफल पार्न म्यान्मारमा पनि विभिन्न मैत्रीपूर्ण अभियानसमेत् चलाउने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्