जिल्ला अस्पतालमा नर्स नहुँदा प्रसूति सेवा प्रभावित



बैतडी : जिल्ला अस्पताल बैतडी नर्सबिहीन भएको छ । एक महिनादेखि नर्स नहुँदा बिरामी समस्यामा परेका छन् । पाँच जनाको दरबन्दी भएको अस्पतालमा अहिले एक जना पनि स्टाफ नर्स छैनन् । 

स्टाफ नर्स नहुँदा प्रसूति सेवा प्रभावित भएको जिल्ला अस्पतालका चिकित्सक जगदीश विष्टले बताए । उनले भने ‘जटिल खालको प्रसूति सेवा दिन स्टाफ नर्स तालिम प्राप्त हुन्छन् । तर अस्पतालमा एक जना पनि नर्स छैनन् । 

गर्भवतीको अल्ट्रासाउण्ड सेवा पनि म नभएको बेला ठप्प हुन्छ । अल्ट्रासाउण्ड गर्ने तालिम प्राप्त नर्सको सरुवा भएपछि सेवा दिनै गाह्रो भएको छ ।’

जिल्ला अस्पतालमा अप्रेसन गरेर बच्चा जन्माउने महिलाहरूको लागि सेवा उपलब्ध छ । तर नर्सको अभावमा सो सेवा समेत प्रभावित हुने गरेको डाक्टर विष्टले बताए । उनले भने ‘अप्रेसनका लागि डाक्टरको सहयोगीको रूपमा स्टाफ नर्सहरूले काम गर्नुहुन्छ । तर स्टाफ नर्स नै नहुँदा जटिल अवस्थाका बिरामीको उपचारमा समस्या हुन्छ ।’

डा. विष्ट अस्पतालमा नभएको बेला गर्भको अल्ट्रासाउण्ड गर्न पुग्नेहरू पनि रित्तो हात फर्किने गरेका छन् । अल्ट्रासाउण्ड गर्ने तालिम प्राप्त नर्सहरूको सरुवा भएपछि अस्पतालले प्रदान गर्ने सेवा प्रभावित भएको हो । 

त्यसो त तीन जना चिकित्सकको दरबन्दी रहेको अस्पताल एक जनाको भरमा चलिरहेको छ । जिल्ला अस्पताल बैतडीमा जटिलतायुक्त प्रसूति सेवा लिनका लागि छिमेकी जिल्लाका सेवाग्राही पनि आउने गरेका छन् । तर स्टाफ नर्स र चिकित्सकको अभावमा अस्पतालले पूर्ण रूपमा सेवा दिन सकेको छैन ।

जिल्ला अस्पतालमा मात्रै नभएर प्राथमिक स्वास्थ्य केन्द्र पाटन र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा स्टाफ नर्सको दरबन्दी खाली छ । एक एक जना स्टाफ नर्स भएका दुवै स्वास्थ्य केन्द्रमा स्टाफ नर्स नभएको डा. विष्टले बताए । 

स्टाफ नर्स नहुँदा उपचार सेवा र परामर्श सेवा प्रभावित भएको उनले बताए । उनले भने ‘हामीले विभागलाई स्टाफ नर्स नभएको बारेमा जानकारी गराइसकेका छौँ । तर पदपूर्ति कहिले हुने हो, केही थाहा छैन ।’

जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव हुँदा बैतडीका स्थानीय उपचारका लागि डडेलधुरा, धनगढी तथा सीमावर्ती भारतीय सहर पिथौरागढस्रम्म जानुपर्ने बाध्यता छ ।

प्रतिक्रिया दिनुहोस्