राष्ट्रपति भण्डारीबाट यङ्गोनस्थित श्वेगादोन पेगोडको अवलोकन



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी तथा नेपाली प्रतिनिधिमण्डलले आज यङ्गोनस्थित श्वेगादोन पेगोडाको अवलोकन गरेको छ । पच्चीस वर्ष पुरानो सो चैत्य र त्यसको क्षेत्रमा भ्रमण नगरी म्यान्माको भ्रमण पूरा भएको मानिन्न । त्यहाँ राष्ट्रपति भण्डारीले बुद्धपूजा पनि गरिन्।

उनलाई त्यहाँ यङ्गोन नगरका प्रमुख माउङ आउन सिओले स्वागत गरे। सुनौला चैत्य, गुम्बा र विहारहरु रहेको सो पेगोडामा बुद्धका केश रहेको बताइन्छ । स्तूपको माथिल्लो टुप्पा चार हजारभन्दा बढी हीरा जडित छ जसमा सबभन्दा ठूलो ७२ क्यारेटको छ । वास्तुकला, मूर्तिकला र कलामा अद्भुत मानिने सो चैत्य।

सोही पेगोडामा आजदेखि लुम्बिनी विकास कोषले आयोजना गरेको ३५ चित्र तथा उत्खननबाट भेटिएको बुद्ध महाभिनिष्क्रमणको मूर्तिको प्रतिकृति पनि राखिएको चित्रकला प्रदर्शनीको पनि आजै राष्ट्रपति भण्डारीले उद्घाटन गरिन्। सात दिनसम्म चल्ने प्रदर्शनीमा लुम्बिनी, कपिलवस्तु र रामग्रामसँग सम्बन्धित चित्र राखिएका छन् ।

कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले वर्षेनी २५ हजार म्यान्मालीले शाक्यमुनि गौतम बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गर्ने बताउँदै नेपाल भ्रमण वर्षमा नेपाल खासगरी लुम्बिनी भ्रमण गर्न म्यान्मालीलाई आग्रह गरे। उनले युनेस्को, दुरहाम विश्वविद्यालय र पुरातत्व विभागबाट लुम्बिनी र कपिलवस्तुको उत्खनन भइरहेको जानकारी दिए।

म्यान्मा बुद्धले प्रवद्र्धन गरेको विपश्यना ध्यानको भूमि पनि मानिन्छ । आजै राष्ट्रपति भण्डारीले यङ्गोनास्थित बोग्योक आङ सन सङ्ग्रहालयको अवलोकन गरिन्। म्यान्माका राजनीतिज्ञ तथा क्रान्तिकारी नेता सनको घरमा रहेको सङ्ग्रहालयमा उहाँका शयन कक्ष, भोजन कक्ष, अध्यययन कक्ष तथा अन्य तस्वीरहरु राखिएका छन् ।

स्वतन्त्रता सेनानी सन म्यान्माका वर्तमान स्टेट काउन्सिलर आङ सान सु चीका पिता हुनुहुन्छ । सङ्ग्रहालमा राष्ट्रपति र प्रतिनिनिधिमण्डललाई यङ्गोन क्षेत्र सरकार र दलका सामाजिक मामिलामन्त्री नैङ न्गान लिनले स्वागत गरेका थिए।

यसअघि आज बिहान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र प्रतिनिधिमण्डलले महाविजय चैत्यको अवलोकन गरेको थियो । सो चैत्यमा तत्कालीन राजा वीरेन्द्रले आफ्नो विसं २०३६ को म्यान्मा भ्रमणका क्रममा प्रदान गरेको सानो बुद्धको मूर्ति पनि राखिएको छ ।

सो अवसरमा परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदास तथा मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ पदाधिकारीलगायत प्रतिनिधिमण्डलका सदस्यको सहभागिता थियो । – रासस

प्रतिक्रिया दिनुहोस्