जनकपुरमा अन्तर्राष्ट्रिय मैथिली सम्मेलन हुने 



पत्रकार सम्मेलनमा सम्मेलनबारे जानकारी दिँदै साहित्यकार रामभरोष कापडी

जनकपुरधाम : मैथिली साहित्य उत्सव नेपालको आयोजनमा पुस ७ र ८ गते जनकपुरमा अन्तर्राष्ट्रिय मैथिली सम्मलेन हुने भएको छ । नेपालमा चौथो पटक हुन लागेको यो अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको १६ औं संस्करण हो । 

मैथिली साहित्य उत्सवले बिहीबार गरेको पत्रकार सम्मेलनमा नेपालका वरिष्ठ साहित्यकार रामभरोष कापडीले भने, ‘राज्यसँग मातृभाषाको प्रतिष्ठा र उचित सम्मान पाउने हेतुले सम्मेलन हुन लागेको हो ।’

 

जनकपुरमा दोस्रो पटक हुन लागेको दुई दिने कार्यक्रमको पहिलो दिनका प्रमुख अतिथि प्रदेश २ का प्रदेशप्रमुख रत्नेश्वरलाल कायस्थ हुने बताइएको छ । कार्यक्रममा मातृभाषामाथि विशेष व्यापक छलफल हुने कापडीले जानकारी दिए । यस पटकको सम्मेलनमा मिथिला क्षेत्रका विभिन्न भाषा मैथिली, भोजपुरी र बज्जिका भाषाका भाषाविद्लाई पनि बोलाइएको छ । 

सम्मेलनमा विभिन्न व्यक्तित्वलाई सम्मान गरिने बताइएको छ । सम्मेलनमा नेपालसहित भारतको दिल्ली, कोलकाता, मुम्बई, पटनाबाट मैथिली भाषाका साहित्यकार र कलाकार आउनेछन् ।

प्रतिक्रिया दिनुहोस्