यसरी बनाउनुस् घरमै बिर्यानी



चामललाई मुख्य सामग्रीको रूपमा प्रयोग गरी मरमसला, तरकारी, माछा, मटन, वा चिकेनसहित हालेर तयार गरिने परिकार हो, बिर्यानी । खाजा वा लन्चका लागि रेस्टुरेन्ट पुग्ने जमातको रोजाइमा बिर्यानी पर्ने गरेको छ ।

बिर्यानीको सुरुवात इरान र भारतबाट भएको हो । अहिले एसियाका सबै स्थानमा फरक–फरक तरिकाले बिर्यानी बनाइन्छ । हैदराबादी बिर्यानी, इराकी बिर्यानी, दक्षिण भारतीय चिकेन बिर्यानी, चिकन दम बिर्यानी, इरानी बिर्यानी, बर्मेली बिर्यानी, कच्ची दम बिर्यानीलगायत स्वाद प्रसिद्ध मानिन्छन् ।

नेपालमा बिर्यानी खान थालिएको लामो समय भएको छैन । तर, हिजोआज काठमाडौंका अधिकांश रेस्टुरेन्टको मेनुमा बिर्यानी समावेश हुन्छ । ननभेज रुचाउने युवा पुस्ताको रोजाइमा चिकेन बिर्यानी पर्ने गरेको छ । यसलाई घरमै पनि बनाउन सकिन्छ ।

आवश्यक सामग्री
चामल, चिकेन (लेग पार्ट र ब्रेस्ट पार्ट), अदुवा र लसुनको पेस्ट, धनियाँको धुलो, जिराको धुलो, खुर्सानीको धुलो, गरम मसला, लेमन जुस, नुन, दाालचिनीको धुलो, तेजपपत्ता र दही ।

बनाउने विधि
चामललाई दुईचोटि सफा पानीले पखालेर १० मिनेटसम्म भिजाएर राख्ने । चामललाई पूरै पाक्न नदिने, झन्डै ८० प्रतिशत पकाउने । त्यसपछि पानी निकालेर फाल्ने । उसिनेको चामलमा तेजपत्ता, घिउ, ल्वाङ र सुकमेल राखेर थोरै तेलमा फ्राई गर्ने ।

फ्राई गरेपछि त्यसमा थोरै स्याप्रेन राख्न सकिन्छ । जसले राइसलाई कलरफुल बनाउँछ । त्यस्तै, थोरै राइसलाई बाहिर निकालेर अन्य कलर पनि राख्न सकिन्छ । चिकेनमा अदुवा र लसुनको पेस्ट, धनियाँको धुलो, जिराको धुलो, खुर्सानीको धुलो, गरम मसला, लेमन जुस, नुन, दालचिनीको धुलो, तेजपत्ता गरी सबै मसला मिसाएर राख्ने ।

अन्तिममा अलिकति दही पनि मोल्न सकिन्छ । यसपछि तेल राखेर चिकेनलाई एकदमै थोरै तापक्रममा पकाउनुपर्छ । पकाउँदा पानी निस्केपछि त्यसमा राइस राख्न सकिन्छ, अनि स्वादिलो बिर्यानी तयार हुन्छ । मीठो स्वादका लागि फ्राइड ओनियन र उसिनको अन्डालाई टुक्रा पारेर बिर्यानीमा हाल्न पनि सकिन्छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्