बिकास र समृद्धिमा जुटौं : पूर्व उपप्रधानमन्त्री रायमाझी



शोभाखर पन्थी
अर्घाखाँची :
पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले मुलुकमा बिकास र समृद्धिको युगको सुरुवात भएको बताएका छन् ।

उनले सहकारीको माध्यम बाट जनतालाई रोजगारी दिलाउने बताए । मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड पाणिनि-५ मैदानको ८ औं साधारणसभामा मन्तव्य राख्दै उनले गाउँ गाउँमा सहकारी र घरघरमा भकारीको अभियान मार्फत जनतालाई समृद्ध पार्ने बताए । छरिएर रहेको पुँजी लाई सहकारी मार्फत केन्द्रीत गरि आय आर्जनमा लगाउनु पर्ने उनको भनाइ थियो । प्रतिनिधि सभाका सदस्य समेत रहनुभएका रायमाझीले जनचेतना अभिबृद्धि,आर्थिक उत्पादन, सामाजिक न्याय ,समाजिक सद्भाव र एकताको निम्ति जिल्लामा सहकारीले पुर्याएको योगदानको प्रसंसा गर्दै उत्पादन मुलक काममा जुट्न सहकारी अभियान्ताहरु लाई आग्रह गरे ।

कार्यक्रममा मन्तव्य राख्दै प्रदेश सभाका सदस्य रामजी प्रसाद घिमिरेले सहकारीलाई उत्पादन सँग जोड्नु पर्ने बताए । सामुहिक भावना,एकता र निश्वार्थ भावले संचालित सहकारीले श्रेष्ठता हासिल गर्ने उनको भनाई थियो ।सहकारी र निजि क्षेत्र अर्थतन्त्रका महत्वपुर्ण पिल्लर भएको भन्दै उनले बिकास र समृद्धिको निम्ति यी दुबै पक्षलाई सँगसँगै लैजानु पर्नेमा जोडदिए । सहकारी अभियानलाई प्रोत्साहित गरी समृद्धिको लक्ष्यलाई सार्थक पार्न सकिने उनको भनाइ थियो ।

पाणिनि गाउँ पालिकाका उपाध्यक्ष लक्ष्मी गौतमले आर्थिक,सामाजिक ,सांस्कृतिक रुपान्तरण मार्फत समाजवादको गन्तव्यमा पुग्नको निम्ति सहकारीले मेरुदण्डको रुपमा कामगर्ने बताए ।

रामप्रसाद घिमिरेको अध्यक्षता र नन्दलाल सुनारको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता जिवनारायण कोईराला ,नेपाली काँग्रेसका महासमिति सदस्य यादव प्रसाद घिमिरे ,वडा नं। ५ का वडा अध्यक्ष जिवलाल घिमिरे ,नेपाल कम्युनिस्ट पार्टी नेकपा वडा कमिटीका अध्यक्ष ईन्द्रमणि घिमिरे ,नेपाली काँग्रेसका वडा सभापति सालिकराम घिमिरे लगायतका वक्ताहरूले मन्तव्य राख्दै सहकारी मार्फत गरिने बिकास दिगो र प्रभावकारी हुने बताए ।

कार्यक्रममा ठुलो संख्यामा स्थानीय बासिन्दाहरुको उपस्थित रहेको थियो । मनकामना बचत तथा ऋण सहकारी संस्था पाणिनि-५ मैदानका बासिन्दाको दुस्ख र सुखको साथि बनेको छ । सहकारीको सहयोगमा स्थानीय बासिन्दा स्वरोजगार समेत बन्दै गएका छन्।

प्रतिक्रिया दिनुहोस्