सञ्चारमाध्यमले गर्दा ललकुदेवीले उपचार पाइन



सप्तरी : अर्थिक अभावले उपचार गर्न असमर्थ सप्तरीको बोदे बर्साइन नगरपालिका–२ की ललकुदेवी पासवानलाई उपचारका लागि बुधबार सहयोग रकम प्राप्त भएको छ । 

 

वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपाली युवाद्वारा सञ्चालित ‘ललकुदेवी बचाउ अभियान’मार्फत सङ्कलन गरिएको रु ७५ हजार हस्तान्तरण गरिएको अधिकारकर्मी दीपेन्द्र पासवानले जानकारी दिए । 

 

श्री सल्हेश सेवा समाजका अध्यक्ष दुर्गानन्द पासवानले बिरामीको घरमै पुगी पीडित परिवारलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको बताए । 

 

समाजकै रामउद्गार रामका अनुसार आर्थिक अवस्थाले उपचार गर्न नसकिरहेको जानकारी विभिन्न सञ्चारमाध्यमबाट पाएपछि कतारमा कार्यरत कामदारले सहयोगस्वरुप सङ्कलन गरेको रकम पठाएका हुन् । 

 

अल्सर, कमलपित्त र बवासिर रोगबाट ग्रस्त ललकुदेवी मुख तथा मलद्वारबाट दैनिक रगत बग्ने र बेहोस हुने गर्थिन् । तीन वर्षदेखि विभिन्न ठाउँका अस्पतालमा उपचार गराउँदै रकम सकेकी ललकुदेवीले पछिल्लो पटक समाज तथा नातेदारसँग ऋण लिएर उपचार गराउँदै आएकी थिइन् । 

 

लामो अवधिसम्म रोग निको नभएपछि तथा उपचारका लागि करीब रु पाँच लाखसम्म खर्च लाग्ने चिकित्सकले बताएपछि निराश बन्नुभएकी ललकुदेवी उपचार गराउन असमर्थ भइन् । उपचार महङ्गो भएकाले थप सहयोग जुटाउन सक्दो पहल भइरहेको दुर्गानन्दले बताए। 

प्रतिक्रिया दिनुहोस्