फेसबुकमा मोदीलाई गाली गर्ने पत्रकार जेल पठाइए



नयाँदिल्ली : प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरेर फेसबुकमा स्टाटस राखेको आरोपमा भारतमा एक पत्रकारलाई एक वर्ष जेल सजाय तोकिएको छ । प्रधानमन्त्रीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोस्ट’ गरेको भन्दै भारतीय प्रशासनले टेलिभिजन पत्रकार किशोरचन्द्र वाङ्खेमलाई जेल सजाय तोकिएको हो ।

सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई आलोचकहरूले वाक् स्वतन्त्रतामाथिको कठोर नीतिको पछिल्लो उदाहरण भनेका छन् । 

गत महिना उत्तरपूर्वी राज्य मनिपुरबाट पक्राउ परेका पत्रकार वाङ्खेमलाई कठोर ‘डाकोनियन ल’ अन्तर्गत एक वर्षको जेल सजाय गरिएको हो । उक्त कानुनी प्रावधानअनुसार भारतमा कसैले ओहोदामा रहेका अधिकारीमाथि दुर्व्यवहार वा गालीगलौज गरेमा अदालती सुनुवाइबिना नै एक वर्ष जेलमा राख्न सुरक्षा अधिकारीहरूलाई छुट छ । 

पत्रकार वाङ्खेमले प्रधानमन्त्री मोदीलाई गाली गरेको ‘उत्तेजक’ दृश्यचित्र सामाजिक सञ्जालमा राखेको आरोप लगाइएको छ । पोस्टमा पत्रकार वाङ्खेमले भारतीय प्रधानमन्त्री मोदी र मनिपुरका मुख्यमन्त्री बिरेन सिंहको सरकारले हिन्दु धर्मको प्रचारमा लागेको भन्दै ‘अभद्र’ गाली गलौज गरेको भिडियो पोस्ट गरेकाे प्रशासनको आरोप छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार पत्रकार वाङ्खेमले आफ्नो पोस्टमा मुख्यमन्त्री सिंहलाई प्रधानमन्त्री मोदी र कट्टर हिन्दुवादी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को ‘कठपुतली’ भएको भन्ने भावको भिडियो राखेको बताएका छन् । 

अधिकारीहरूले पत्रकार वाङ्खेमको पक्राउ राज्यको सुरक्षामा आँच आउने काम गर्ने प्रवृत्तिलाई रोक्ने उद्देश्यले भएको जनाएकाे एएफपीले उल्लेख गरेकाे छ । 

भारतमा गत महिना एकजना शिक्षकले प्रधानमन्त्री मोदीलाई ‘कुकुर’ भन्दै गाली गरेपछि छिमेकी राज्य आसाममा उनलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्