अक्सिजनको सहारामा डिग्री पास



एजेन्सी : अमेरिकाको टेक्सासकी एक महिलाले ८४ वर्षको उमेरमा स्नातक गरेकी छन् । ७७ वर्षसम्म जागिरे जीवन बिताएकी उनी जागिरपछि विश्वविद्यालय पुगिन् ।

 

पाँच सन्तानकी आमा उनले रिटायर्ड जीवन विश्वविद्यालयलाई सुम्पिइन् । फिन नाम गरेकी ती महिलाले पढाइको धोको ८४ वर्षमा पूरा गरिन् । टेक्सास विश्वविद्यालयबाट स्नातक सकेपछि उनले भनिन्, ‘जागिरबाट रिटायर्ड भएपछि अरू त होइन, पढ्न मन लाग्यो ।’

 

८४ वर्षको उमेरमा पनि उनी आफैं गाडी चलाएर पढ्न जान्थिन् । उनले थपिन्, ‘म मेरो इच्छा मार्न चाहन्नथें, अक्सिजनको सहारा लिएरै भए पनि पढाइ पूरा गरें ।’ 

 

कामको व्यस्तता र छोराछोरीको जिम्मेवारीबाट इच्छा दबाएर राखेकी फिनकी सल्लाहकार शिला रोलर्सनने भनिन्, ‘उनले आफ्नो चुनौतीको कहिल्यै हार मानिनन्, आफ्नो काममा दृढ भएर लागिरहिन् ।’

 

समाजशास्त्रका शिक्षक केरल सिरुलीले भने, ‘कक्षामा धेरै कुराको जिज्ञासा राख्ने गर्थिन् र हरेक कुरा याद गर्थिन्’, अमेरिकाको न्युयोर्कमा जन्मिएकी फिनले ड्रेस निर्माताको सचिवको रूपमा काम गरिन् ।

 

पछि उनले अमेरिकाको डलासमा रहेको अर्थोपेडिक अस्पतालमा सचिवको रूपमा २० वर्ष काम गरिन् ।  डिग्री पाएपछि खुसी हुँदै उनले भनिन्, ‘इच्छा भए हरेक काम पनि सजिलै पाउन सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्